काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय बिमा संस्थानले जलविद्युतमा लगानी बढाएको छ । संस्थानले संकलन गरेको बिमा शुल्क सरकारले तोकेको प्राथमिकता प्राप्त क्षेत्र ऊर्जामा लगानी बढाएको हो ।
संस्थानले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र विद्युत उत्पादन कम्पनी लिमिटेडमा स्वपुँजी लगानी गरेको छ ।
तामाकोसीमा गरेको २१ करोड १८ लाख रुपैयाँ सेयर लगानीको अहिले बजार पुँजीकरण बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको संस्थानले जनाएको छ । यस्तै तामाकोसीमा गरेको २ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी ब्याज पुँजीकरणसहित ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
एचआईडीसीएलमा १ अर्ब सेयर लगानी गरेकोमा बजार पुँजीकरण बढेर ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यस्तै विद्युत उत्पादन कम्पनीमा ६ करोड रुपैया सेयर लगानी रहेको संस्थानले जानकारी गराएको छ ।
उच्च प्रतिफल दिने जलविद्युत आयोजनाहरुमा ऋण तथा सेयर लगानी गर्ने विषयमा एचआईडीसीएलसँग छलफल भइरहेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए । संस्थानले नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, एनआईसी एसिया बैंक र नेपाल पुर्नबिमा कम्पनी लिमिटेडमा संस्थापक सेयर रहेको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थामा संस्थानको २४ अर्ब १९ करोड मुद्धति निक्षेप र ४ अर्ब ३२ करोड रुपैयाँ डिबेञ्चरमा लगानी गरेको संस्थानका प्रशासक पाठकले जानकारी दिए ।
चालु आर्थिक वर्षको पुससम्म संस्थानको ३८ अर्ब ७८ करोड रुपैयाँ जीवन बिमा कोष कायम रहेको छ । नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरुको बिमा शुल्क ४ खर्ब ५२ अर्ब ७९ करोड रुपैयाँ छ । नेपालको जीवन बिमा व्यवसायमा संस्थानको बजार हिस्सा ८।५३ प्रतिशत रहेको छ ।
यस्तै संस्थाले चुक्ता पुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउन सेयरधनी सरकारी निकायहरुलाई पुँजीवृद्धि योजना पठाएको छ । बिमा प्राधिकरण ऐन संसदबाट पारित भएपछि संस्थानको पुँजीवृद्धि योजना कार्यान्वयनमा आउने छ । संस्थानमा सरकारको २७.७८, नेपाल राष्ट्र बैंकको ५५।.५५ र नेपाल बैंकको १६।.६७ प्रतिशत स्वामित्व रहेको छ ।