काठमाडौैं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ । सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ रूपैयाँबराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो ।
तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार रूपैयाँका विभिन्न जातका ३ करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।
नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना छ । यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलपूmलको परनिर्भरता चुलिँदै गएको देखिन्छ । नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मानिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७÷७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो ।
नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्का छिमेकी मुलुक भारत हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट १ अर्ब १५ करोड ३२ लाख ५६ हजार रूपैयाँ मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार रूपैयाँबराबरको स्याउ आयात भएको छ ।
समग्रमा चालू आर्थिक वर्षको पहिलो सात महिनामा कूल रु चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी सोही अवधिमा नेपालमा ७८ करोड ५१ लाख १५ हजार ६ सय रूपैयाँ बराबरका सुन्तलाको आयात भएको छ । नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ । सो अवधिमा भारतबााट रु ७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट ९० लाख ७७ हजार र टर्कीबाट ११ लाख ६६ हजार ६ सय रूपैयाँ बराबरका कुल १ करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ ।
त्यस्तै चालू आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख ५ हजार रूपैयाँबराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ । पाँच प्रकारका फलपूmलमा कागतीको आयात तेस्रो स्थानमा छ । कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्याङ्कले देखाएको छ ।
पहाडी डाँडाकाँडामा राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ । १ सय मिटरको उचाइदेखि दुई हजार ४ सय मिटरको उचाइमा ८ सय मिलीमिटरदेखि एक हजार २ सय मिलीमिटर पानी पर्ने तर पानी नजम्ने स्थानमा कागती खेती गर्न सकिन्छ । कागतीलाई सुन खेतीका नामले पुकारिन्छ । झन्डै १३ रोपनी जग्गामा कागती खेती गर्दा करिब १० लाख रूपैयाँ आम्दानी हुने कृषि विज्ञको भनाइ छ ।
नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ । तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ । तर आयात भने रोकिएको छैन । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य रूपैयाँबराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ ।
त्यस्तै सोही अवधिमा अङ्गुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ । नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अङ्गुरको आयात हुने गर्दछ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ५६ लाख ७७ हजार रूपैयाँ बराबरका सुक्खा र ताजा गरी कुल ४८ लाख ९३ हजार आठ किलोग्राम अङ्गुर आयात भएको तथ्याँङ्क छ ।
यसैगरी सोही अवधिमा नेपालमा भारतबाट झन्डै १० करोड रूपैयाँ बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट २ करोड रूपैयाँको एभोकाडो, भारतबाट १६ करोड रूपैयाँको खर्बुजा, चीनबाट १३ करोड रूपैयाँको नासपाती भारतबाट ४ करोड रूपैयाँको किवी, ९ करोड रूपैयाँको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एंव विभिन्न थरीका अन्य फलफूल गरी झन्डै ३ अर्बको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । रासस