लुम्बिनी। लुम्बिनी क्षेत्रमा आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि विशेष योजना (प्याकेज) बनाएर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको छ। पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान बनाउँदै रोजगारीका अवसर सृजना गर्न पर्यटन प्रवर्द्धन गर्नुपर्ने भएकाले विशेष योजनासहित प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको हो।
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बिनीको आयोजनामा बुुटवलमा आज सम्पन्न भएको नेपाल(भारत पर्यटन पत्रकार भेटघाट कार्यक्रममा सहभागी वक्ताहरूले आध्यात्मिक पर्यटन प्रवर्द्धनमा जोड दिएका हुन्। भारतीय पर्यटक लक्षित आध्यात्मिक पर्यटनको प्याकेज बनाएर त्यसको प्रवर्द्धन र प्रचारप्रसार गर्नुपर्नेमा सहभागीको भनाइ छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले कालिगण्डकी हुँदै मुक्तिनाथ लाखौँ भारतीय तीर्थयात्री जाने वतावरण बनाउन सके धार्मिक पर्यटन प्रवर्द्धन हुने बताए।
भारतको ताजमहल जस्तै पाल्पाको रानिमहल, बुद्धजन्मस्थल लुम्बिनी, प्युुठानको स्वर्गद्वारी, रुपन्देहीको सिद्धबाबा, शालिग्राम पाइने एकमात्र तीर्थस्थल कालिगण्डकी हुँदै मुक्तिनाथसम्म र गुल्मीको रेसुङा, अर्घाखाचीको सुपादेउराली यी सबै ऐतिहासिक महत्व बोकेका धार्मिक क्षेत्रलाई समेटर सस्तो धार्मिक पर्यटन प्याकेज बनाउनुपर्नेमा उनले जोड दिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख जनकबहादुर शाहीले नेपाल घुम्न आउने भारतीय पर्यटकलाई नेपालमा ढुक्क भएर भ्रमण गर्न अनुरोध गरे। बुटवलस्थित होटल हायतका अध्यक्ष चुन्नुप्रसाद पौडेलले नेपालको आध्यामिक, प्राकृतिक तथा ऐतिहासिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकलाई विशेष सुविधा दिँदै आइएको जानकारी दिए।
भारतस्थित महाराजगञ्ज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले भारतीय पर्यटक लक्षित योजनालाई साकार पार्न भारतमा प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएर सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए।