काठमाडौं। सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म एक हजार ८६० वटा निवेदन परेका छन् भने १७३ जनाको सरुवा भएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्याएको उक्त अनलाइन प्रणालीमा आएका निवेदनमध्ये प्रक्रिया नपुगेका २८ वटा निवेदन फिर्ता गरिएको छ। मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव धोलकराज ढकालका अनुसार हाल रिक्त रहेका पदमा सरुवालाई प्राथमिकता दिइएको हो।
भूमी व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले डिजिटल, पारदर्शी र सुरक्षित सरुवा प्रणाली कार्यान्वयनमा ल्याइएको बताउँदै कर्मचारीलाई अनलाइनमार्फत सरुवा निवेदन पेस गर्न आग्रह गरिन्। घरबाटै आवेदन दिन र निवेदनको अवस्था अनलाइनमार्फत लिन सकिने भएकाले कर्मचारीलाई मन्त्रालय धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ।
मन्त्रालयले गत असार १६ गतेदेखि अनलाइन प्रणालीमार्फत सरुवा आवेदन लिनका लागि सूचना जारी गरेको थियो। निजामती कर्मचारीले आफ्नो कर्मचारी सङ्केत नम्बर प्रयोग गरी व्यक्तिगत खाता खोलेर आफू जान चाहेको कार्यालयका लागि अनलाइनबाट निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
नियमित सरुवाको अवधि भदौ १ देखि ३० गतेसम्म रहेकाले हाल विशेष आवश्यकता परेको अवस्थामा मात्रै सरुवा गरिएको मन्त्रालयले जनाएको छ। भदौ महिनामा भने अवधि पुगेका कर्मचारीलाई नियमित सरुवा तालिकाअनुसार व्यवस्थापन गरिनेछ।
प्रशासन महाशाखाका प्रमुख ढकालले विगतमा सरुवा माग गर्न दुर्गम क्षेत्रबाट मन्त्रालयसम्म आउनुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब सबै प्रक्रिया अनलाइनबाट हुने भएकाले ‘अफलाइन’ वा हातले बुझाइने निवेदन दर्ता गर्ने व्यवस्था नरहेको बताी। प्रमुख ढकालका अनुसार नयाँ प्रणाली राष्ट्रिय किताब खानासँग जोडिएकाले सरुवा स्वीकृत हुने वित्तिकै कर्मचारीको विवरण स्वतः अद्यावधिक हुन्छ।
सरकारले सञ्चालनमा ल्याएको कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमा घरबाटै सरुवा निवेदन पेस गर्ने, निवेदनको अनलाइन स्थितिबारे जानकारी लिने, समयमा वास्तविक स्थिति पत्ता लगाउने, कागजात व्यवस्थापन तथा स्वचालित सूचना प्राप्त गर्ने सुविधा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।