काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव परेको देखिँदैन । गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य देखिन्छ ।
नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ । यस्तै घरजग्गाको नामसारी मात्रै ५ हजार ९ वटा भएका छन् । संशोधनतर्फ कुल ४ हजार ५३९, हाल साविकतर्फ २ हजार ६९३, घरजग्गा रोक्कातर्फ ३६ हजार ५७२ र फुकुवातर्फ कुल २४ हजार ७४९ रहेको विभागको विवरण छ ।
घरजग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै १ लाख ६२ हजार ६७८ काम भएका देखिन्छ । गत माघमा कुल १ लाख ३२ हजार ५३ वटा घरजग्गाको काम भएको देखिन्छ । यस आधारमा पनि माघको तुलनामा फागुनमा बढी काम भएको स्पष्ट हुन जान्छ । गत माघमा कुल ५९ हजार ५१६ वटा लिखत पारित भएका थिए । यस्तै घरजग्गाको नामसारीतर्फ ४ हजार २७७ वटा थिए । संशोधनतर्फ ३ हजार ६२२, हाल साविक २ हजार १४९, रोक्का ३० हजार ९८७ र फुकुवातर्फ १८ हजार ६७६ वटा भएका थिए ।
बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबार भएन भन्ने विषयलाई यो तथ्यांकले भने अस्वीकार गरेको जस्तो देखिन्छ । विभागको विवरणअनुसार फागुन महिनामा घरजग्गाको कारोबारबाट मात्रै ६ अर्ब २६ करोड १६ लाख १० हजार १०५ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । रजिस्ट्रेसन दस्तुरबाट ३ अर्ब ७८ करोड ११ लाख ८६ हजार ७९९,अतिरिक्त शुल्कबाट ४ लाख दुई हजार ५४५ पुँजीगत लाभकरबाट १ अर्ब ४४ करोड ४६ लाख ३ हजार ३ रुपैयाँ बराबरको राजस्व उठेको छ ।
सो महिना मात्रै घरजग्गाको कारोबारमा ५५ करोड ६५ लाख ९४ हजार ४०९ रुपैयाँ बराबरको छुटसमेत पाएका छन् । बागमतीतर्फ मालपोत कार्यालय चाबहिलमा फागुन महिनामा ३८ करोड ३५ लाख ९८ हजार, मालपोत कार्यालय डिल्लीबजारले ४५ करोड ३२ लाख छ हजार ३५३ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । मालपोत कार्यालय कलंकीले ३९ करोड १६ लाख ८५ हजार ५०२, मालपोत कार्यालय साँखुले १५ करोड ७४ लाख ८० हजार ५१२, मालपोत कार्यालय मनमैजुले १३ करोड २९ लाख ३२ लाख ७५६, मालपोत कार्यालय टोखाले ११ करोड २९ लाख २४ हजार ४१९ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा सबैभन्दा बढी लखनखेल मालपोत कार्यालयले बढी राजस्व संकलन गरेको छ । विभागको विवरणअनुसार लखनखेल मालपोतले ५४ करोड २२ लाख ११ हजार १३९ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । यस्तै, मालपोत कार्यालय बाँकेले ११ करोड २३ हजार ४०९,मालपोत कार्यालय कास्कीले १२ करोड ४५ लाख ३० हजार ९९२, मालपोत कार्यालय चितवनले १६ करोड २८ लाख ३४ हजार ८७७ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । विभागका अनुसार मालपोत कार्यालय रुपन्देहीले ९ करोड १९ लाख २६ हजार ३२४, मापलपोत कार्यालय चन्द्रौटाले ३ करोड ३५ लाख ८४ हजार ३३८ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
केही मालपोत कार्यालयले भने मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कमार्फत पनि राजस्व संकलन गरेका छन् । त्यसमा सप्तरीको राजविराज र कञ्चनपुर, सिराहाका २ मालपोत कार्यालय, जनकपुरधाम, जलेश्वर, महोत्तरी, सर्लाहीका ३ मालपोत कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कोषमार्फत रकम संकलन गरेको छ ।
प्रदेश नं २ का रौतटह, बारा, पर्साका मालपोत कार्यालयमा समेत सो कोषमार्फत घरजग्गाको कारोबार गर्दा रकम संकलन भएको छ । त्यसबापत ४ करोड २९ लाख ५१ हजार ७९४ रुपैयाँ बराबरको रकम संकलन भएको छ । रासस