काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ५ सदस्यीय विज्ञहरूको टोली गठन गरेका छन् ।
प्रत्येकलाई मासिक ६० हजार रुपैयाँ तलब सुविधा दिने गरी अर्थराजनीतिक विश्लेषक हरि रोकाको नेतृत्वमा ५ सदस्यीय प्रबुद्ध समूह (थिंक ट्यांक) समूह बनाएका हुन् । जसमा सोमत घिमिरेलाई कृषि क्षेत्र विज्ञ बनाइएको छ । यसैगरी, जगत श्रेष्ठलाई पूर्वाधार क्षेत्र, रघुवीर विष्टलाई सार्वजनिक वस्तु र सुगमजंग केसीलाई वैदेशिक व्यापारको जिम्मेवारी दिएको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौलाले बताए ।
सरकारको ट्रेजरी ऋणात्मक रहेको अवस्थामा अर्थमन्त्री शर्माले सरकारलाई थप दायित्व सिर्जना हुने खालका राजनीतिक नियुक्ति दिएका छन् । सरकारको ढुकुटी व्यवस्थापन गर्न ध्यान नदिएका अर्थमन्त्री शर्माले मन्त्रालयमा हुँदै नभएको पद सिर्जना गरी नियुक्ति दिएका हुन् ।
पछिल्लाे समय अर्थतन्त्रका सम्पूर्ण सूचक नकारात्मक रहेका बेला अर्थमन्त्री शर्माले राज्यको ढुकुटीमा दबाब बढाउने खालका थुप्रै गतिविधि गरिरहेका छन् । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नै परिवर्तन गरी जथाभावी बजेट रकमान्तर गरेका अर्थमन्त्री शर्माले पछिल्लो समय विज्ञताका नाममा राज्यको ढुकुटीमा थप भार थप्ने काम गरेका हुन् ।
ट्रेजरीमा रकम अभाव भएकै कारण सरकारले यति बेला आन्तरिक ऋण उठाएर चालू खर्च (तलब भत्ता) धानिरहेको छ । बजारमा तरलता अभाव भएकाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधाको उपयोग गरी बैंक/वित्तीय संस्थाले आन्तरिक ऋणमा लगानी गरिरहेका छन् । अर्थात् राष्ट्र बैंकले नयाँ नोट छापेर बजारमा पठाएको रकम आन्तरिक ऋणमार्फत उठाएर सरकारले तलब भत्ता खुवाइरहेको छ ।
प्रतिस्थापन विधेयक समयमा नै ल्याउन नसक्दा तरलता सहज भएको अवस्थामा आन्तरिक ऋण उठाउन सकेन । फलस्वरूप सस्तो ब्याजदरमा आन्तरिक ऋण नउठाएको सरकारले अहिले ९ प्रतिशतको ब्याजदरमा आन्तरिक ऋण उठाइरहेको छ ।
राज्यको स्रोतको दुरुपयोग गर्न कुनै पनि ठाउँ नराखेका अर्थमन्त्री शर्माले मासिक लाखौं रुपैयाँ सरकारको नाममा दायित्व सिर्जना हुने गरी ५ सदस्यीय थिंक ट्यांक समूह बनाएका हुन् ।