काठमाडौं । काठमाडौंमा प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुने भएको छ । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्न लागेको सम्मेलन भोलि शुक्रबारदेखि १२ गतेसम्म जारी रहनेछ ।
सम्मेलनमा अर्थतन्त्रको अवस्था र यसका प्राथमिक मुद्दाबारे प्रमुख राजनीतिक दललाई सुझाव दिने उद्देश्य रहेको छ ।
सम्मेलनमा न्यून आर्थिक वृद्धि, गरिबी, असमानता, कमजोर पूर्वाधार, बेरोजगारी, निर्वाहमुखी कृषि, उच्च मुद्रास्फीति, पुँजीगत खर्च, उच्च व्यापारघाटा, औद्योगिक आधार, विप्रेषणमुखी अर्थतन्त्र र आयातमुखी राजस्वजस्ता आर्थिक मुद्दामाथि बहस हुनेछ ।
कार्यक्रममा अर्थमन्त्री, पूर्वप्रधानमन्त्री, योजना आयोग, नेपाल राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ तथा प्रमुख राजनैतिक दलका प्रतिनिधिहरु तथा विश्वविद्यालयका पदाधिकारीहरुलाई अतिथिको रुपमा बोलाइएको छ ।
सम्मेलनमा अहिलेको अर्थतन्त्रका ९ वटा मुद्दाहरुको विषयमा कार्यपत्र प्रस्तुत हुने आयोजकको भनाइ छ ।