काठमाडौं । अर्थमन्त्री जनार्दन शमाले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् । उनले कृषि उत्पादनवृद्धि, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजीक्षेत्रमैत्री लगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण गर्ने बताएका छन् ।
नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत् आर्थिक बहस कार्यक्रममा बोल्दै उनले भने, ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं ।’
अहिलेको अर्थतन्त्रबारे धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने उनको भनाइ छ । ‘म बजेटमार्फत किसानको बाँझो खेततर्फ फर्र्कन चाहन्छु । त्यता नफर्की उत्पादनवृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिँदैन भन्ने लाग्छ’, उनले भने, ‘निर्यातलाई अब बिस्तारै बढाउँदै लैजानुपर्छ । निर्यात बढाउन हामीसँग उत्पादनको अथाह सम्भावना छ ।’
चालू आवको ८ महिनामा कुल वैदेशिक व्यापारमा निर्यातहिस्सा १० प्रतिशत नाघेको भन्दै आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताए । चालू आवको ८ महिनाससम्ममा निर्यातले नयाँ कीर्तिमान राख्दै १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो वर्षको भन्दा ८२.९० प्रतिशतले बढी हो ।
मन्त्री शर्माले बढ्दै गएको व्यापारघाटा कम गर्न थप के कस्ता काम गर्न सकिन्छ भनेर सुझाव पनि मागेका थिए ।
‘आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्छ । हाम्रो स्रोत–साधनको अधिकतम प्रयोग गरी पुँजी निर्माण गर्नुपर्छ । तर गर्ने कसरी ? मलाई यस विषयमा सुझाव चाहिएको छ’ उनले भने ।
अर्थविद्हरुले व्यक्तिगत रुपमा आफ्नो बारेमा नकारात्मक टिप्पणी गरेको बताउँदै भने, ‘केही विद्धान् साथीहरुले गरेको टिप्पणी सुनेको छु । कुन विश्वविद्यालयबाट ज्ञान हासिल गर्नुभएको हो, थाहा छैन । त्यो विश्वविद्यालयको नै बेइज्जत हुने देख्छु ।’
२५ भदौमा प्रतिस्थापन विधेयकमार्फत चालू आवको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने लक्ष्य लिएको र स्थिति सामान्य भएको भए लक्ष्यभन्दा बढी आर्थिक वृद्धिदर हासिल हुने स्थिति रहेको उनले दाबी गरे ।
‘तर, बजेट घोषणालगत्तै केही समयपछि कात्तिक पहिलो साता बेमौसमे वर्षातले धान बालीमा ठूलो क्षति भयो । अहिले युक्रेन–रुस युद्धले विश्व अर्थतन्त्रसँगै नेपाालको आयातुमखी अर्थतन्त्रलाई पनि असर गरेको छ’ उनले भने, ‘यसरी बाह्य कारणले ठूलो असर गर्दा हामीले सोचेजस्तो आर्थिक अवस्थामा देशको अर्थतन्त्रलाई राख्न नसकिएको विषय सबैले बुझ्नुपर्छ ।’
सरकारले नियमन गर्न सक्ने ठाउँसम्म पुगेर अर्थतन्त्रलाई सम्हालिरहेको पनि मन्त्री शर्माले जानकारी दिए । साथै, ६.७ महिनासम्मको वस्तु तथा सेवा आयात गर्न धान्ने विदेशी मुद्रा सञ्चिति रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बाह्य तत्वको असरले अर्थतन्त्रमा दबाब परेको बताए । देशभित्रै उत्पादन र रोजगारी वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।
‘केही वस्तुको आयातमा प्रतिबन्ध गर्न र आयातमा थप कडाइ गर्न विभिन्न क्षेत्रबाट सुझाव आए पनि अर्थतन्त्रलाई सकेसम्म खुल्ला छाड्नुपर्छ । नियन्त्रण गर्नुहुँदैन भन्ने सरकारको नीति छ’ उनले प्रस्ट्याए ।
कार्यक्रममा आर्थिक संघका अध्यक्ष तथा वरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले दुई अंकको आर्थिक वृद्धिदरसमेत सम्भव नभएको भन्दै अर्थतन्त्रलाई विस्तार गर्न सुझाव दिएका थिए । उनले क्रिप्टोकरेन्सी, हाइपर फन्ड लगायतबाट पुँजी पलायन भइरहेको भन्दै नियमनका लागि सशक्त कदम चाल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अर्थशास्त्रीहरु प्रा.डा. गोविन्द नेपाल, डा. पोषराज पाण्डे, केशव आचार्य र व्यवसायी पवन गोल्यानले विभिन्न सुझाव राखेका थिए ।