काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले वार्षिक सवा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आफ्नो सेवालाई थप विस्तार गर्ने योजनासहित क्षमता अभिवृद्धि गरिरहेको छ। हालको ११६ शैयालाई बढाएर २७५ शैया पुर्याउनका लागि ३ अर्ब ३२ करोड रुपैयाँको लगानी गरिरहेको अस्पतालको व्यावसायिक साख मूल्यांकनमा (क्रेडिट रेटिङ)मा समेत सुधार आएको छ।
रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले नर्भिकको दीर्घकालीन बैंक कर्जाको रेटिङलाई ‘बीबीबी’बाट बढाएर ‘बीबीबी प्लस’ प्रदान गरेको छ। त्यस्तै, अल्पकालीन कर्जाको रेटिङ पनि ‘ए थ्री प्लस’बाट सुधार भई ‘ए टु’ कायम भएको छ। साख मूल्यांकनमा भएको यो स्तरोन्नतिले अस्पतालको वित्तीय दायित्व पूरा गर्ने क्षमता बलियो रहेको र लगानीको सुरक्षा अवस्था सन्तोषजनक रहेको संकेत गर्दछ।
अस्पतालको व्यापारिक ग्राफ पछिल्ला वर्षहरूमा निरन्तर उकालो लागेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको अस्पतालले आव २०८१/८२ मा ११ प्रतिशतको वृद्धि गरी २ अर्ब २६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। अस्पतालको यो व्यापारिक लय चालू आर्थिक वर्ष २०८२/८३ मा पनि कायमै छ। चालू आवको पहिलो ९ महिना (चैत मसान्त) सम्ममै अस्पतालले २ अर्ब ४ करोड ४० लाख रुपैयाँको कारोबार गरिसकेको छ। बिरामीको बढ्दो चाप र स्तरीय स्वास्थ्य सेवाका कारण अस्पतालको आम्दानी र नगद प्रवाह दुवैमा उल्लेख्य सुधार देखिएको हो।
अस्पतालले हालको ११६ शैयाको क्षमतालाई विस्तार गरी २७५ शैया पुर्याउने महत्वाकांक्षी योजना अघि बढाएको छ। कुल ३ अर्ब ३२ करोड २० लाख रुपैयाँको संशोधित लागतमा निर्माण भइरहेको यो विस्तार आयोजनाको भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ। सन् २०२६ को अप्रिलसम्मको तथ्यांकअनुसार यसमा ५८ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। यो विस्तारित सुविधामार्फत सन् २०२७ को जनवरीदेखि व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको छ। क्षमता विस्तारपछि अस्पतालको आम्दानी र नाफामा अझै ठूलो बढोत्तरी हुने अपेक्षा गरिएको छ।
वित्तीय सूचकहरूको विश्लेषण गर्दा अस्पतालको सञ्चालन मुनाफामा उत्साहजनक सुधार देखिएको छ। सन् २०२४ मा २३.६६ प्रतिशत रहेको नाफा २०२५ मा २६.६९ प्रतिशत पुगेको छ भने चालू वर्षको ९ महिनामा यो ३२.९१ प्रतिशतको उच्च विन्दुमा पुगेको छ। अस्पतालको ब्याज तिर्ने क्षमता १०.९० गुणाबाट सुधार भएर २४.२५ गुणा पुगेको छ। जसले अस्पतालको वित्तीय स्वास्थ्य अत्यन्तै बलियो रहेको पुष्टि गर्छ। ऋण र पूँजीको अनुपात पनि १.५० बाट झरेर १.१७ गुणा कायम भएको छ। अस्पतालको कुल ऋण र नगद प्रवाहको अनुपात २.६९ गुणा रहेको छ।
नर्भिक अस्पताल चौधरी ग्रुपको एक हिस्सा हो। अस्पतालमा बिएलसी होल्डिङ्सको ३४ प्रतिशत र बसन्त कुमार चौधरीको ४९ प्रतिशत सेयर स्वामित्व छ। अस्पतालको सञ्चालक समितिको नेतृत्व अध्यक्ष राजेन्द्र बहादुर सिंहले गरिरहेका छन्। मेडिकल डाइरेक्टरका रूपमा डा. पंकज जलानले नेतृत्व गरेका छन्।
तीन दशक लामो इतिहास बोकेको नर्भिकले नेपालको स्वास्थ्य क्षेत्रमा मुटु रोगको उपचार र आईभीएफ सेवामा अग्रणी पहिचान बनाएको छ। अस्पतालले कुल २ अर्ब ७९ करोड ४७ लाख रुपैयाँको बैंक ऋण सुविधा उपयोग गरिरहेको छ।
थापाथली जस्तो रणनीतिक लोकेसन, स्थापित ब्राण्ड र आधुनिक प्रविधिको प्रयोग नर्भिकका लागि मुख्य सबल पक्ष हुन्। काठमाडौं उपत्यकाको बढ्दो जनघनत्व, स्वास्थ्य बीमाको पहुँच र स्तरीय स्वास्थ्य सेवाको माग ह्याम्सका लागि ठूला अवसरहरू हुन्।
यद्यपि, विस्तार आयोजना कार्यान्वयनमा हुने ढिलाइ (राजनीतिक अवरोध, निर्माण ढिलाइ), लागत वृद्धि र दक्ष चिकित्सकहरूलाई टिकाइराख्नु अस्पतालका लागि चुनौती हुन्। साथै, काठमाडौं उपत्यकामा निजी क्षेत्रका ठूला अस्पतालबीचको तीव्र प्रतिस्पर्धा र एउटै मात्र स्थानबाट सेवा प्रवाह गर्दा हुने जोखिम पनि कायमै छन्। आगामी दिनमा विस्तार आयोजना समयमै सम्पन्न गरी लक्षित अकुपेन्सी हासिल गर्नु नै व्यवस्थापनको मुख्य परीक्षा हुने रेटिङ रिपोर्टको निष्कर्ष छ।