काठमाडौं । सरकारले हस्तक्षेप गरेपछि भारतमा बिजुलीको भाउ घट्ने भएको छ । बिजुलीको भाउ आकासिएर अनियन्त्रित अवस्थामा पुगेपछि त्यहाँको केन्द्रीय विद्युत नियमन आयोगले हस्तक्षेप गरेर भाउ घटाएको हो ।
नियमन आयोगले भारतमा बिजुलीको अधिकतम मूल्य प्रतियुनिट १२ भारु तोकेको छ । विद्युत प्राधिकरणले भारतीय बजारमा प्रतियुनिट १९.२० रुपैयाँमा बिजुली पाउने भएको छ । प्रसारण लाइन शुल्क, कर र चुहावटसमेत जोड्दा बिजुलीको मूल्य प्रतियुनिट अधिकतम २२ रुपैयाँ हुने विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।
उनका अनुसार नयाँ दर आउँदो सोमबारदेखि लागु हुने छ । भारतमा मूल्य घटेकाले प्राधिकरणलाई केही राहत भएको उनले सुनाए । यसअघि भारतको एक्सचेन्ज मार्केटमा बिजुलीको न्यूनतम मूल्य प्रतियुनिट २० भारु तोकिएको थियो ।
अब भारतको इलेक्ट्रिसिटी एक्सचेन्ज मार्केटमा विद्युत प्राधिकरणले १२ भारु (२२ रुपैयाँ नेपाली) पाउने भएको प्रवक्ता भट्टराईले बताए । नयाँ दर आउँदो सोमबारदेखि लागु हुने प्राधिकरणका प्रवक्ता भट्टराईले जानकारी दिए ।
भारतमा बिजुलीको मागअनुसार आपूर्ति नभएपछि बिजुलीको भाउ बढेर प्रतियुनिट २० भारु (३८ रुपैयाँ) सम्म पुगेको थियो । बढी मूल्य प्रस्ताव गर्दा पनि प्राधिकरणले मागेको जति बिजुली पाउन सकेको थिएन ।
प्राधिकरणले आन्तरिक माग पुरा गर्न भारतबाट ४०० मेगावाटसम्म बिजुली आयात गर्दै आएको छ । भारतमा बिजुलीको भाउ आकासिएपछि प्राधिकरणले केही दिन आयात बन्द गरेको थियो । अहिले औद्योगिक क्षेत्रमा बिजुली आपूर्ति घटाएर गार्हस्थ्यलाई मात्र उपलब्ध गराइरहेको छ ।
प्राधिकरणले दैनिक प्रतिस्पर्धामा भारतबाट बिजुली किनिरहेको छ । बिजुली खरिद बिक्रीका लागि भारतको विनिमय बजारमा ९६ वटा ब्लक छन । विद्युत प्राधिकरणले ती ब्लकमा बिजुली किन्न प्रतिस्पर्धा गर्नुपर्छ ।
साँझको समयमा बिजुलीको माग साढे १६०० मेगावाट छ । पछिल्लो महिना भारतमा बिजुलीको भाउ आकासिएको छ । प्राधिकरणले ४.५० देखि ६.१२ भारुसम्म बिजुली किन्दै आएको थियो । भारतमा बिजुली महँगो भएपछि यसको असर आपूर्तिमा परेको हो ।
यता भारतमा पनि बिजुलीको माग २५ प्रतिशतले बढेको छ । उत्पादन बढ्न नसक्दा भने बिहारले पनि उपलब्ध गराउन सकेको छैन । भारतमा ८० प्रतिशतभन्दा बढी बिजुली कोइला प्लान्टबाट उत्पादन हुने गरेको छ । बिजुली नपाएपछि भारतमा धेरै उद्योग बन्द भएका छने । नेपालले ५० मेगावाट मात्र सस्तो दरमा आयात गरिरहेको छ ।
रसिया र युक्रेन युद्धका कारण कोइला आपूर्ति बन्द भएको छ । आपूर्ति बन्द भएपछि यसको भाउ कासिएको छ । कोइलाको मूल्य आकासिएपछि अहिले बिजुलीको भाउ महँगो हुन गएको हो ।
भारतमा बिजुली महँगो हुने भएपछि माथिल्लो तामाकोसी, कालीगण्डकी, मध्यमस्र्याङ्दी र मस्र्याङ्दी आयोजनाको पानी जम्मा गरी साँझ पूर्णक्षमतामा चलाउँदै आएको छ । यी आयोजनाबाट दिउँसो कम बिजली उत्पादन हुने गरेको छ ।
अहिले प्राधिकरणका आफ्ना आयोजनाबाट ५२२, सहायक कम्पनीका आयोजनाबाट ३११, निजी उत्पादनकबाट ३१० मेगावाट आपूर्ति भइरहेको छ । भारतबाट आवश्यकताअनुसार ४०० मेगावाटसम्म बिजुली आयात हुने गरेको छ ।