तनहुँ । शुक्रबार हुने स्थानीय तहको निर्वाचन स्वच्छ, भयरहित र धाँधलीरहित बनाउन तनहुँमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको छ ।
जिल्लामा नेपाली सेनाका १० वटा बेसक्याम्प खडा गरी ४१५ नेपाली सेना सुरक्षार्थ खटाइएको छ । जोखिम क्षेत्रलाई मध्यनजर गर्दै सेनाले बेसक्याम्प बनाएर अवलोकन गरिरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।
बेसक्याम्प स्थापना गरी नेपाली सेनाले वस्तुस्थिति बुझ्ने कार्य गरिरहेको छ । अर्यालका अनुसार मतदान केन्द्रमा कुनै घटना भएमा बढीमा ३० मिनेटमा नेपाली सेना पुग्ने योजना बनाइएकाे छ ।
मतदान केन्द्रमा बल प्रयोग गर्नुपर्ने अवस्था देखिएमा जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप सेना परिचालन गरिनेछ । बेसक्याम्पबाट नजिक रहेका मतदान केन्द्रमा बढीमा १० मिनेटमै सेनाको टोली घटनास्थलमा पुगिसक्नेछ ।
उच्च जोखिम मानिएका क्षेत्र नजिक नेपाली सेनाले बेसक्याम्प स्थापना गरेको हो ।
स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित तनहुँका सबै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसकेका छन् । जिल्लामा रहेका २९७ वटै मतदान केन्द्रका लागि आवश्यक ६१ प्रकारका सामान, मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी एकैसाथ पठाइएको हो ।
तनहुँमा १० पालिकाका कुल ४४५ उम्मेदवारका लागि १ हजार ६३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।