नेपालको यातायात क्षेत्र सफा र आधुनिक बनाउन विद्युतीय सवारी साधन (ईभी) अपनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो। हालसालै सरकारले पेट्रोल-डिजेलमा चल्ने गाडीलाई विद्युतीयमा बदल्न (कन्भर्जन) मिल्ने गरी कानुन बनाउने घोषणा गरेको छ। यो कुराले नेपालको यातायात क्षेत्रमा एउटा नयाँ ढोका खोल्ने देखिएको छ।
यसअघि पनि यस विषयमा कैयौं पटक छलफल भएको थियो। तर, स्पष्ट नियम-कानुन नहुँदा काम अघि बढ्न सकेको थिएन। कसैले व्यवहारमा कन्भर्जन गरेका थिएनन्। अहिले सरकारले कानुनी मापदण्ड बनाउने कुरा आएकाले यो काम वैधानिक रूपमा हुन सक्छ भन्ने हाम्रो विश्वास छ।
खर्च कति लाग्छ- डराउनु पर्दैन
इन्धन गाडीलाई विद्युतीयमा बदल्दा खर्च कति लाग्छ भन्ने जिज्ञासा धेरैमा छ। यो कत्तिको भरपर्दो हुन्छ र नेपालमा यो काम गर्न सक्ने दक्ष मान्छे छन् कि छैनन् भन्ने प्रश्न पनि उत्तिकै छ।
साझा यातायातले यो काम व्यवहारमा गरिसकेको छ। हामीले २०८१ मा पहिलो पटक एउटा पुरानो इन्धन बसलाई विद्युतीयमा बदलेर सञ्चालनमा ल्याएका थियौं। त्यो बस अहिले पनि चलिरहेको छ। तर स्पष्ट नीतिको अभावमा सार्वजनिक रुटमा दर्ता गरेर चलाउन मिलिरहेको छैन। सरकारले २०७८ मा यससम्बन्धी नीति त ल्यायो, तर कहाँ र कसरी चलाउने भन्ने विस्तृत मार्गदर्शन नहुँदा हाम्रो बसले रुट अनुमति पाउन सकेन।
गाडीको अवस्था ठीक छ भने कन्भर्जन गरेर थप १० वर्षसम्म चलाउन सकिन्छ। यसले गाडीको मूल्य पनि बढाउँछ।
हामीले १४ वर्ष पुरानो बसलाई कन्भर्जन गर्यौं। त्यसका लागि आवश्यक सबै उपकरण अन्तर्राष्ट्रिय बोलपत्रमार्फत खरिद गरियो। त्यतिबेला किट र ब्याट्रीको लागत मात्रै करिब ६५ लाख रुपैयाँ पर्यो। यति महँगो पर्नुको मुख्य कारण थियो- थोरै परिमाणमा सामान ल्याउँदा ढुवानी र प्रक्रियागत खर्च बढी हुनु। त्यसमाथि नेपालमा यस्ता उपकरणका लागि कर नीति स्पष्ट नभएकाले उच्च दरमा कर तिर्नुपर्यो। यही अन्योलका कारण सामान झण्डै ६ महिनासम्म विमानस्थलमै थन्किएर बस्यो, जसले लागत अझ बढायो।
तर अहिले त्यति धेरै खर्च नलाग्ने सम्भावना छ। किनकि कुन कम्पनीको प्रविधि प्रयोग गर्ने, कस्तो डिजाइन रोज्ने- यी कुराले लागत घटाउँछन् वा बढाउँछन्। जुत्ताको उदाहरण दिऊँ- हेर्दा उस्तै देखिए पनि एउटा ५ हजारमा पाँच वर्ष टिक्छ, अर्को ३ हजारको ६ महिना पनि नटिक्न सक्छ। त्यसैले प्रविधि, कम्पनी, ब्याट्रीको क्षमता र गाडीको आकारले नै लागत निर्धारण गर्छ।
सरकारले स्पष्ट नीति ल्याएपछि ठूलो परिमाणमा उपकरण आयात गर्न सकिन्छ। जसले लागत ४० देखि ५० लाख रुपैयाँसम्म झार्न सक्छ। मानिसहरूले अहिले यो निकै महँगो पर्छ भनेर डराउनुपर्दैन।
कन्भर्जनको फाइदा के हो?
कन्भर्जनको सबैभन्दा ठूलो फाइदा भनेको पुरानो गाडीको उमेर थप्नु हो। गाडीको अवस्था ठीक छ भने कन्भर्जन गरेर थप १० वर्षसम्म चलाउन सकिन्छ। यसले गाडीको मूल्य पनि बढाउँछ।
विद्युतीय बसको दैनिक सञ्चालन खर्च इन्धन बसको तुलनामा तीन चार गुणा सस्तो पर्छ। सुरुमा लगानी बढी चाहिन्छ, तर दीर्घकालमा खर्च निकै कम हुन्छ। नयाँ विद्युतीय बस किन्दा डेढ करोडसम्म लाग्न सक्छ, तर पुरानो गाडी कन्भर्जन गर्दा त्योभन्दा कम खर्चमा काम हुन्छ।
नेपाली प्राविधिकले नै गर्न सक्छन्
साझाले गरेको यो कन्भर्जनमा एक जना पनि विदेशी विशेषज्ञ आएनन्। साझाका आफ्नै मेकानिकल इन्जिनियर र नेपाली प्राविधिक टोलीले नै सारा काम गरे। यसले प्रमाण गर्छ कि नेपालमै दक्ष जनशक्ति तयार गर्न सकिन्छ। अध्ययन, तालिम र जनशक्ति विकासमा ध्यान दिने हो भने नेपालमै ठूलो स्तरमा यो काम हुन सक्छ।
यात्रुको सुरक्षाका लागि डिजिटल कन्ट्रोल सिस्टम र बस ट्र्याकिङ जस्ता आधुनिक प्रणालीहरू पनि विकास भइरहेका छन्।
साझाले कन्भर्जन गरेको बसमा ६० किलोवाट आवर क्षमताको ब्याट्री छ, जसले एक चार्जमा १०० किलोमिटर गुड्न सक्छ। ब्याट्री क्षमता बढाउँदा यो दूरी २०० देखि २५० किलोमिटरसम्म पुर्याउन सकिन्छ।
अगाडिको बाटो
पेट्रोल-डिजेलको मूल्य बढ्दै जाने, आपूर्ति अनिश्चित हुने र वातावरण प्रदूषण हुने कुरालाई ध्यानमा राख्दा विद्युतीय सवारी नै भविष्यको विकल्प हो। सरकारले स्पष्ट नीति, प्राविधिक मापदण्ड र सहजीकरण ल्याउने हो भने नेपालमा यो रूपान्तरण प्रभावकारी रूपमा विस्तार हुन सक्छ।
साझा यातायात आफैं पनि विद्युतीय बस सेवा विस्तारमा लागिरहेको छ। नाइट बस सेवा सुरु भइसकेको छ। यात्रुको सुरक्षाका लागि डिजिटल कन्ट्रोल सिस्टम र बस ट्र्याकिङ जस्ता आधुनिक प्रणालीहरू पनि विकास भइरहेका छन्। आगामी दिनमा सार्वजनिक यातायातलाई अझ व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने हाम्रो लक्ष्य छ।