काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले लगभग सबै तयारी सकिसकेकाे छ ।
आयोगले मतदाता शिक्षा, सचेतनालगायत निर्वाचनसम्बन्धी विभिन्न सामग्रीहरू सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिरहेको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्तिले प्रवेश पाउने बताएकाे छ ।

यस्तै महिला मतदाताको साथमा रहेको बढीमा ५ वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्यले मात्र प्रवेश पाउनेछन् ।
यस्तै मादक पदार्थ सेवन गरेको व्यक्त मतदाता भए पनि मतदान गर्न नपाउने आयोगले जनाएको छ ।
मतदान केन्द्रमा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, हात हतियार लैजान पाइने छैन । साथै नमुना मतपत्र, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा संकेत भएको वस्तुसमेत लैजान नपाइने आयोगले जनाएको छ।