काठमाडौं । सरकारले ऋणको म्याद थप्न पहल नगर्दा कावेली ए जलविद्युत आयोजना अवरुद्ध भएको छ । विश्व बैङ्कबाट हाइड्रो इलेक्ट्रिक इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल) मार्फत लिएको ४ करोड अमेरिकी डलर (४ अर्ब रुपैयाँ) ऋणको म्याद आउँदो पुसको दोस्रो साताबाट (जनवरी) सकिदै छ । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) अन्तरगतको कावेली इनर्जी लिमिटेडले ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजना निर्माण थालेको हो ।
कर्जाको म्याद १ वर्ष थप गर्न कावेली इनर्जीले एक वर्षअघि नै पत्राचार गरेको थियो । तर, अर्थले चासो नदेखाएपछि म्याद थप्ने पहल अघि नबढेको कम्पनी स्रोतले बतायो । विश्व बैङ्कले लगानी प्रतिबद्धता जनाएको ४ करोड डलर मध्ये १ करोड डलर खर्च भइसकेको छ । बाँकी ३ करोड डलर १ वर्षभित्र खर्च गर्ने लक्ष्य कावेलीको छ । विश्व बैङ्कले म्याद थप नगरे आयोजना लगभग बन्द हुने कम्पनी स्रोतले बतायो ।
विश्व बैङ्क अन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले पनि आयोजनामा झण्डै ४ अर्ब रुपैयाँ अर्थात ३ करोड ८६ लाख डलर ऋण लगानीको सम्झौता गरेको छ । विश्व बैङ्कले ऋणको म्याद थप नगरेसम्म आयोजनाको काम अघि नबढ्ने स्रोतको भनाइ छ । आयोजनाको लागत १० अर्ब रुपैयाँ छ । लागातको दृष्टिले कावेली ए महंगो आयोजना हो ।
‘आयोजनाको ऋण उपयोग अवधि ५ वर्ष रहेकोमा २ वर्ष सरकारले ऋण स्वीकृतिमा ढिलाइ गर्यो बाँकी ३ वर्षभित्र सबै ऋणको उपयोग हुन सकेन’ कावेली स्रोतले क्यापिटल नेपाललाई भन्यो ‘२ वर्ष सरकार आफैले ढिलाइ गर्यो तर अहिले म्याद थप्न सरकारले नै चासो देखाएको छैन ।’ सरकारले म्याद थपको अनुरोध नगरेसम्म विश्व बैङ्कले निर्णय नगर्ने स्रोतको भनाई छ ।
कावेलीमा सिङ्गापुरको इन्फ्राको एसियाको ४५ प्रतिशत र बीपीसीको ५५ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
यता सिभिल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी झिझ्याङ्गले काम गर्न नसकेर ठेक्का तोडिएपछि आयोजना अनिश्चित भएको छ । विश्व बैङ्कको गाइडलाइन्सअनुसार आयोजनामा कामको गुणस्तर र वातावरणीय मापदण्ड पुरा नगरेपछि ठेक्का तोडिएको हो । आयोजनाको २० प्रतिशत काम मात्र भएको छ ।
विश्व बैङ्कबाट ऋणको म्याद थप नभएसम्म ठेकेदार नियुक्त नगर्ने तथा ठेक्का सम्झौता नहुने कम्पनीले स्पष्टपारेको छ । ऋणको म्याद १ वर्ष थप भएमा काम सुरु भई ३ अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसक्ने स्रोतको भनाई छ । गत अप्रिलमा चिनियाँ कम्पनीसँग ठेक्का तोडिएपछि आयोजनाको काम अवरुद्ध छ । इलेक्ट्रो मेकानिकलका लागि सीडब्लूटीडब्लू चिनियाँ कम्पनी छनोट भएका थिए । सन २०२१ को मार्चदेखि बिजुली उत्पादन लक्ष्य लिएकोमा अब अनिश्चित भएको छ ।
आयोजनाको कूल लागत ९ करोड ९५ लाख डलर करिब १० अर्ब रुपैयाँ छ । प्रति मेगावाट लागत झण्डै ३० करोड रुपैयाँ छ । यो निजी क्षेत्रबाट निर्माण हुन लागेको सर्वाधिक महंगो आयोजना हो । आयोजना ७७.५ ऋण र २२.५ प्रतिशत स्वपुँजी लगानी छ । सन २००६ मा बीपीसले प्रतिस्पर्धाबाट कावेली आयोजना पाएको हो । सबैभन्दा सस्तो दरमा बिजुली दिने प्रतिवद्धा जनाएपछि आयोजना बीपीसीले पाएको हो ।
पाँचथर र ताप्लेजुङको सिमाना भएर बग्ने काबेली नदीको पानी प्रयोग गरेर जिल्लाको अमरपुर र पञ्चमीमा आयोजना निर्माण हुनेछ । पाँचथरको अमरपुर–५ ठूलो धुसेनीमा बाँधबाँधी काबेलीको पानी ४।३२ किलोमिटर लामो सुरुङबाट अमरपुर–९ स्थित पिनासीघाटमा खसालिनेछ । काबेली ‘ए’ जलविद्युत आयोजना अर्धजलासय (पिकिङ रन अफ दी रिभर) आयोजना हो ।