काठमाडौं । चालु आर्थिक वर्षमा आयातको तुलनामा निर्यात व्यापार बढेको छ । चालु आर्थिक वर्षको साउनमा वस्तु निर्यात २७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारततर्फ ५१.८ र चीनतर्फ १३२.९ प्रतिशतले निर्यात वृद्धि भएको छ । यस्तै तेस्रो मुलुकतर्फको निर्यातमा ९.२ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पाम तेल, अलैंची, दन्त मन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढेको छ । जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
पहिलो महिनामा वस्तु आयात ११.५ प्रतिशतले घटेर १०६ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५४.३ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा हटरोल सिट, कच्चा पाम तेल, तयारी पोशाक, सोलार प्यानल, अन्य मेसिनरी तथा पाटपुर्जा लगायतका वस्तुको आयात बढेको छ । हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।
पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १३.९ प्रतिशतले संकुचन भई ९७ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ५.७ प्रतिशत थियो ।