काठमाडौं। देशभर एकै दिन १६ स्थानमा आगजनीका घटना भएका छन्। यस्तै, तीन स्थानमा डढेलो लागेको छ।
सुक्खा मौसमका कारण देशभर आगजनीका घटनामा वृद्धि भएकाले सचेतना अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणका अनुसार, चैत १२ गते बिहानदेखि चैत १३ गते बिहानसम्म देशभर २५ विपद् घटना भएका थिए। विपदका कारण ७४ लाख सात हजार बराबरको धनमालको क्षति भएको छ।
घटना विवरणअनुसार उखुको पात सल्काउँदा, खाना पकाउने क्रममा चुल्होबाट हावाले आगो उडाउँदा आगलागी भएका छन्। ग्यास चुहिएर, वा सलाई खेलाउँदा पनि आगलागी भएको छ। सामान्य सावधानी अपनाउँदासमेत रोकथाम गर्न सकिने भए पनि लापरवाहीका कारण आगलागीका घटनामा वृद्धि भएको विवरणमा देखिन्छ।
प्राधिकरणका अनुसार, ललितपुर, रुपन्देही र सल्यानका विभिन्न जंगलमा डढेलो लागेको थियो। यस्तै, बर्दिया, रुकुम पूर्व, दाङ, रुपन्देही, बाग्लुङ, कास्की, ललितपुर, काभ्रेपलाञ्चोकका एक–एक स्थानमा आगलागीका घटना भएका छन्।
रौतहट, मोरङका दुई दुई स्थानमा आगलागीका घटना हुँदा सुनसरी, उदयपुर, सिरहाका एक एक स्थानमा पनि सामान्य सावधानी नअपनाउँदा ठूलो क्षति भएको छ।
यस्तै, कञ्चनपुरमा सर्पको टोकाइबाट दुई जना घाइते भएका छन्। पदयात्रामा गएका दुई पदयात्रीलाई मुस्ताङमा लेक लागेको छ। पाँचथर, भक्तपुर, नवलपरासी पूर्व र गुल्मीमा भने जनावर आक्रमणका घटना भएका छन्। प्राधिकरणले विपदमा जोगिन पूर्वसावधानी अनपाउन आग्रह गरेको छ।