काठमाडाैं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योगी तथा लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार जुनसुकै कदम उठाउन तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ पुगेर मुख्यमन्त्री राउतले लगानीबिना समृद्धि सम्भव नभएकाले आफूले नयाँ लगानी आकर्षित गर्न तथा साबिकका लगानीकर्ताको हित सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
नयाँ लगानीका लागि कानुनी सुधार, कर सहुलियत तथा भूमि प्राप्तिलाई सहज बनाउन हरदम प्रयास भइरहेको पनि मुख्यमन्त्री राउतले बताए । साबिकका उद्योगी तथा लगानीकर्ताहरुलाई भइरहेको दोहोरो कर तथा विद्युत् महसुलमा रहेको अन्तरले परेको समस्या समाधानका लागि प्रदेश तथा संघीय सरकारको तहमा समेत पहल गर्ने प्रतिबद्धता मुख्यमन्त्री राउतले व्यक्त गरे । सो अवसरमा प्रदेश २ का महान्यायाधिवक्ता दीपेन्द्र झाले उद्योगी तथा लगानीकर्ताका लागि प्रदेशले चार प्रकारका विशेष सहुलियत तथा सहजीकरणको काम गरेको जानकारी गराए ।
प्रादेशिक करमा २० वर्षे सहुलियत, भूमि प्राप्तिमा सहजीकरण, तीन घण्टाभित्रै उद्योग दर्ता र अन्य प्रक्रिया पूरा गरिदिने तथा उद्योगका लागि सुलभ दरमा विद्युत् उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेर काम भएको महान्यायाधिवक्ता झाले उल्लेख गरे ।
प्रदेश २ मा रहेका उद्योगले भोग्नु परेका समस्या समाधानमा कानुनी सहयोगका लागि पनि प्रदेश तम्तयार रहेको महान्यायाधिवक्ता झाले उल्लेख गरे ।
सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले संघीय र प्रादेशिक दुवै तहमा सरकार र उद्योगी तथा लगानीकर्ताबीच विश्वासको वातावरण बनाउनु पर्ने समय आएको बताए । सरकारका तह र उद्योगी तथा लगानीकर्ताबीच विश्वासको संकट हुँदा लगानी नभित्रिने र भएको लगानीको पनि पलायन हुने खतरा रहेकाले यसमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।
प्रदेश २ को सिमरा वीरगन्ज कोरिडोर तथा वीरगन्जमा रहेको आर्थिक हबलाई जोगाउन तथा विस्तार गर्न पनि समग्र लगानी वातावरणमा सुधार हुनु पर्ने अध्यक्ष मोरले उल्लेख गरे । विद्युत् महसुलमा रहेको अन्तर कायम रहे औद्योगिक कोरिडोरमा रहेका उद्योगसमेत बन्द हुन सक्ने भएकाले समस्या समाधानका लागि पहल लिन पनि अध्यक्ष मोरले मुख्यमन्त्री राउतसँग आग्रह गरे ।
परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले विद्युत् महसुलमा देखिएको समस्या समाधान नभए सिमरा वीरगन्ज कोरिडोरमा रहेका ठूला उद्योगहरु प्रतिस्पर्धी बन्न नसकी बन्द गर्नु पर्ने अवस्था आउन सक्ने बताए ।
सो अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले हालै सम्पन्न पूर्वाधार सम्मेलनमा प्रदेशमा लगानी बढाउने उपायस्वरुप प्रस्ताव गरिएको प्रादेशिक लगानी साझेदारी मञ्च (पीपीआईएफ) निर्माणमा अग्रसरताको अपेक्षा गरेको पनि उल्लेख गरे ।
सो अवसरमा परिसंघका अर्का उपाध्यक्ष राजेश अग्रवाल र परिसंघ राष्ट्रिय परिषद सदस्य नरेश दासले पनि प्रदेश २ मा रहेका उद्योगको अवस्था र समस्या समाधानका लागि आवश्यक पहल लिन मुख्यमन्त्री राउतसँग आग्रह गरे ।