रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ५४ करोड ३९ लाखको बजेट प्रस्तुत गरेको छ ।
पाँचौँ नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक जागेश्वरी चौधरीले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आवका लागि प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै १९ करोड बढी छ । आव २०७५÷७६ मा तिलोत्तमाले एक अर्ब ३५ करोडको बजेट ल्याएको थियो । उप–प्रमुख चौधरीले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ ५३ करोड ३९ लाख तथा पूँजीगत खर्चतर्फ एक अर्ब ९९ लाख ४० हजार विनियोजन गरिएको छ ।
बजेट प्रस्तुत गर्दै उप–प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बजेटको मुख्य उद्देश्य ‘समृद्ध नगरः खुसी नगरवासी’ रहेको बताए । यो बजेटमा आम्दानीको स्रोतको रुपमा आन्तरिक राजश्वबाट ५० करोड १२ लाख ७० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ७६ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् दुई करोड ५० लाख र गत आवको मौज्दात एक करोड रुपैयाँ रहेको छ ।
शिक्षातर्फ शिक्षक, कर्मचारीको तलबका अतिरिक्त सामुदायिक विद्यालयको भवन तथा पूर्वाधार निर्माणमा ६ करोड, दिवा खाजा, यातायातलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ । नगर क्षेत्रभित्रका जीर्ण सडकको मर्मतसम्भार तथा स्तरोन्नति, गत वर्ष पूरा हुन नसकेका अधुरा सडक निर्माण, नाली तथा ढल निर्माणलगायत पूर्वाधार विकासका लागि विनियोजन गरिएको छ ।
तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा कोशेली घर, सीपमूलक तालीम सञ्चालनसमेतका कार्यक्रम कार्यान्वयन गर्न एक करोड १२ लाख विनियोजन गरिएको छ । यसैगरी वन, वातावरण, हरियाली प्रवद्र्धनमा चार करोेड १५ लाख, खेलकूद र युवातर्फ एक करोड ९७ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ ।