काठमाडौं । काठमाडाैं महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । महानगरले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका अवैध संरचना भत्काएको हो ।
महानगरले भदौ ६ देखि अवैध संरचना भत्काउन सुरु गरेको थियो । आज नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ ।
यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्याङ रहेको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । आइतबार कोटेश्वर प्रहरी चौकी नजिकैको ५० बढी अवैध संरचना भत्काइएको थियो ।

महानगरले यसअघि बानेश्वरमा रहेको बानेश्वर कम्प्लेक्समा निर्माण भएका अवैध संरचना, काठमाडौं मलका अवैध संरचना, आर बि कम्प्लेक्सका करिब १४ साना पसल र बानेश्वरमा रहेको अल्लाबिटामा निर्माण विपरीत प्रयोग भएका संरचना भत्काइएका छ । यस्तै, केही दिनअघि सानो भर्याङमा रहेको अवैध सात टहरा पनि भत्काइएको छ ।
त्यसैगरी, वर्ल्ड ट्रेड सेन्टरमा अनधिकृत रुपमा राखिएको डिजिटल बाेर्ड बन्द गरेकाे छ । नक्सा अनुरुप निर्माण नभएको, नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेर निर्माण भएका सबै संरचना अवैध ठहर गर्दै महानगरले आगामी दिनमा त्यस्ता सम्पूर्ण संरचना निरन्तर भत्काउने जनाएकाे छ ।

यस्तै, बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको महानगरले जनाएको छ । ती सबैलाई कानुनी दायरामा ल्याउने महानगरले जनाएको छ । महानगरकाे यस कार्यकाे प्रशंसा गर्दै अन्य प्रदेश तथा स्थानीय निकायले पिन अवैध रुपमा निर्माण भएका र निर्माण भए अनुरुप प्रयोजन नभएका संरचना भत्काउन थालेका छन् ।


