काठमाडौं । आज (असोज १०)देखि दसैंका लागि नयाँ नोट सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकले दसैंको नयाँ नोट सटही सुरु गरेपछि राष्ट्र बैंकमा सर्वसाधारणको भीड लागेको छ
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले नयाँ नोट सटही सुरु भएको बताए । प्रवक्ता निरौलाका अनुसार ५, १०, २०, ५० र १०० रुपैयाँ दरका गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा दिइएको छ । यसभन्दा बढी आश्यक पर्नेलाई सटही सुकिलो नोट उपलब्ध गराइएको प्रवक्ता निरौलाले बताए ।

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग (थापाथली बन्द भएकाले केन्द्रीय कार्यालय बालुवाटारबाट), बालुवाटार र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढी कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका उपत्यकास्थित कार्यालयबाट नोट सटही सुविधा उपलब्ध गराएको जनाएको छ ।
यसरी प्रयोग गरौँ नयाँ नोट
सामान्यतया नयाँ नोट प्रयोग गर्दा सार्वसाधारणले ध्यानै नपु¥याएको देखिन्छ । विशेष गरी चाडवाडका बेला रातो पहेँलो टीकाका कारण कागजी नोट निकै मैलो हुने गर्छ । साथै चिसो हातले समाउँदा पनि नोटको आयु घट्छ । नयाँ नोट सटही गर्दा ठूलो धनराशी बाहिरिने भएकाले यसको जतनपूर्वक प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । दसैंमा नयाँ नोट प्रयोग गर्दा रातो टीका नदल्ने, चिसो हातले नोट नसमाउने, सफा हातमा वा खाममा पैसा राखेर प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
नयाँ नोटमा नकेर्नुस् कानुनी कारवाही हुन्छ
राष्ट्र बैंकले नयाँ (कागजी) नोटमा केरमेट गरे कारबाही तथा जरिवानाको व्यवस्था भएकाले केरमेट नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
गत भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २२, मुद्रासम्बन्धी कसुरअन्तर्गतको दफा २६३ को उपदफा(२) मा कसैले बैंक नोटमा लेख्न वा कोर्न हुँदैन भन्ने व्यवस्था गरिएको छ । सोही दफाको उपदफा(३) मा उपदफा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । यस्तो कार्य नगर्न÷नगराउन बैंकलाई राष्ट्र बैंकले यसअघि नै निर्देशन जारी गरिसकेको छ ।
सामान्यतया १००० र ५०० दरका नोटको आयु ३ वर्ष र साना दरका नोटको आयु २ वर्ष हुने गर्छ । नोट कति समयपछि प्रणालीमै फर्कन्छ भन्ने प्रयोगकर्तामा भर पर्ने कुरा हो । प्रयोगकर्ताले प्रयोग गरिसकेपछि एक पटक बैंकिङ प्रणालीमा पुगेपछि पुनः पुरानो कागजी नोट बजारमा जाँदैन । त्यस्ता पुराना, झुत्रा र मैला नोटको सङ्कलन गरी राष्ट्र बैंकले धुल्याएर नष्ट गर्छ । नयाँ नोट छाप्दा मुलुकले वार्षिक ३ अर्ब रुपैयाँको हाराहारीमा खर्चिने गरेको छ ।
