काठमाडौं। लालमोहन र रसबरीको बट्टामा लुकाएर लागुऔषध कारोबार गर्ने ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध बुप्रेनोर्फिन, डाईजेपाम, फेनारगन र खैरो हेरोइन बट्टामा लुकाएर कारोबार गर्ने ६ जनालाई पक्राउ गरेको हाे। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएर ललितपुरको बागडोल बस्ने अर्जुन ढकाल, बाराका अजय महतो, सिन्धुपाल्चोक घर भएका राम बहादुर तिमिल्सिना छन्।
खैरो हेरोइनसहित इलाम घर भएका २४ वर्षीय सुजन हेल्मु र २९ वर्षीय सञ्जीव राईलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए। खड्काले सुजन र सञ्जिवको साथबाट प्रहरीले ५० दशमलव ५ ग्राम खैरो हेरोइन बरामद गरेको विज्ञप्तिमार्फत जानकारी गराएका हुन्।

भदौ २४ मा ललितपुरको थसिखेलबाट प्रहरीले बा.५ च ७१३८ नम्बरको बोलेरोमा लुकाएर राखेको बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरेको विज्ञप्तिमा उल्लेख छ। अर्जुन ढकालले काठमाडौं बाहिरबाट ल्याएको सो लागुऔषध बागडोलस्थित कोठामा भण्डारण गर्ने तयारीमा थिए भने बागडोलमा ढकालले लागुऔषध भण्डारण गर्नका लागी नै डेरा लिएको अनुसन्धानबाट खुलेकाे एसपी खड्काले जानकारी दिए।
एसपी खड्काका अनुसार ढकालले लालमोहन र रसबरीको बट्टामा प्याक गरेर लागुऔषध काठमाडौं बाहिरबाट ल्याउने गरेका थिए ।ढकालको बागडोलमा रहेको अर्को डेराबाट प्रहरीले २ हजार ८४० एम्पुल बुप्रेनोर्फिन, २ हजार ८४० एम्पुल डाइजेपाम र सोही परिमाणमा फेनारगन बरामद गरेको छ। उनको डेराबाट एम्पुल लुकाउन प्रयोग गरिने ५ वटा लालमोहन र रसबरीका बट्टा बरामद गरिएको उनले बताए।
लागुऔषध एम्पुलसहित पक्राउ परेका अजय महतो र रामबहादुर तिमिल्सिना प्रदेश–२–०३–००१ ख ३६२८ नम्बरको बसका चालक र सहचालक हुन्। चालक तिमिल्सिना र सहचालक महतो मिलेर पटक–पटक सो बसमा लुकाएर लागुऔषध ल्याउने गरेको अनुसन्धानबाट खुलेकाे हाे।