काठमाडौं। मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भएसँगै नेपालमा पनि इन्धनको भाउले नयाँ उचाइ छोएको छ। डेढ महिनाअघि प्रतिलिटर १६० रुपैयाँमा पाइने पेट्रोलको मूल्य अहिले २१९ रुपैयाँ पुगिसकेको छ। यसरी इन्धनको मूल्य आकासिरहेको बेला नेपाली दुईपांग्रे सवारीसाधनको बजारमा भने ग्राहक तान्ने नयाँ वर्ष लक्षित रोचक अफरको होडबाजी नै चलेको छ।
नयाँ वर्ष(न्यू एयर) २०८३ लाई लक्षित गर्दै दुई पांग्रे सवारी बिक्रेता कम्पनीहरूले इन्धनको बढ्दो मूल्यलाई नै मुख्य एजेन्डा बनाएर आकर्षक योजनाहरू सार्वजनिक गरेका छन्। अहिले दुई पांग्रे सवारी बिक्रेताहरूले ग्राहक आकर्षित गर्न नयाँ वर्ष लक्षित पाँच वर्षसम्म निःशुल्क पेट्रोलदेखि १ लाख रुपैयाँसम्म नगद छुटको अफर सार्वजनिक गरेका हुन्।
नेपालमा स्थापित ब्रान्ड बजाज, टीभीएस, यामाहा, हिरो, होन्डालगायत ठूला ब्राण्डले नगद छुट, क्यासब्याक, फाइनान्स सुविधा, निशुल्क पेट्रोल लगायका अफर ल्याएका हुन्। अफरको मौका छोपेर सवारी खरिद गर्न ग्राहक अग्रसर हुने भएकाले अटो ब्रान्डले एक वर्षमै आधा दर्जन बढी योजना ल्याउने गरेका छन्। बजारमा एक ब्रान्डले छुट सुविधा तथा अफर ल्याए अर्को ब्रान्डमा पनि सोही किसिमको योजना सार्वजनिक गर्न बाध्यात्मक अवस्था सिर्जना हुने गर्दछ। यसैले एक ब्रान्डले योजना सार्वजनिक गर्नासाथ अन्य ब्रान्डले पनि अफर सार्वजनिक गर्ने गरेका हुन्।
यस्ता छन् ब्रान्ड अनुसारको अफर
हिरो
नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले ‘नयाँ युगको प्रारम्भ’ अफर अन्तर्गत हिरोका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १ लाख रुपैयाँसम्म नगद छुट पाइने अफर ल्याएको छ। यस अफरमार्फत ग्राहकले आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटरसँग हिरोमा नयाँ सवारी साट्न सक्नेछन्। एक्सचेन्ज गर्दा पनि १ लाखसम्मकै एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ।
कम्पनीले ग्राहकको सहजतालाई मध्यनजर गर्दै इजी फाइनान्स सुबिधा पनि दिइरहेको छ। ग्राहकलाई हिरोका मोटरसाइकल वा स्कुटर किन्न जगदम्बा हायर पर्चेजले नागरिकता र ड्राइभिङ लाइसेन्सकै आधारमा कर्जा उपलब्ध गराउने छ।
सीएफमोटोः
नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ को अवसरमा सीएफमोटोको ३०० एनके मोटरसाइकल खरिदमा १ लाख ५ हजार रुपैयाँ नगद छुट दिने घोषणा गरेको छ। कम्पनीले यसअघि ६ लाख ५४ हजार ९०० रुपैयाँ पर्ने सीएफमोटो ३०० एनके अब ५ लाख ४९ हजार ९०० रुपैयाँमै खरिद गर्न सकिने जनाएको छ। नयाँ वर्ष लक्षित यो अफरले नेपाली बजारमा मिड सेग्मेन्ट मोटरसाइकल प्रतिस्पर्धालाई थप तीव्र बनाउने अपेक्षा कम्पनीको छ।

यसका अलावा ग्राहकले एमटी थण्डरको हेल्मेट र सीएफमोटो लोगो भएको प्रिमियम हुडी समेत निःशुल्क पाउने छन्। साथै, ग्राहकहरूले ५ वर्षसम्मको वारेन्टी, एक्सचेन्जमा अतिरिक्त भ्यालुएसन, आकर्षक क्यास डिस्काउन्ट, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समेत पाउने कम्पनीको भनाइ छ।
साथै, नयाँ वर्षको योजना अन्तर्गत सीएफमोटो २५० डुअल ईएफआइ खरिद गर्ने ग्राहकहरूले ८ हजार ३०० रुपैयाँसम्म नगद छुट पाउने छन्। साथै, एक्सचेन्जमार्फत मोटरसाइकल साट्ने ग्राहकहरूले बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्य पाउने कम्पनीले जनाएको छ।
होण्डा
नेपालमा होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८३ लक्षित गर्दै ‘८३ को सपना मेरो होण्डा’ नामक अफर सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत ग्राहकहरूले होण्डा ब्राण्डको मोटरसाइकल वा स्कुटर किन्दा स्क्रयाच कार्ड मार्फत अधिकतम १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् साथै, ग्राहकले ७ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि पाउने छन्। जसले सवारी खरिदपछि दीर्घकालीन मर्मत खर्च घटाउने र सजिलो फाइनान्स सुविधामा दुईपाँग्रे स्कुटर खरिद गर्न सक्नेछन्।

टिभीएस
नेपालका लागि टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्ष ०८३ का अवसरमा ‘टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा’ नामक अफर सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ अफर अन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले ५ वर्षसम्म पेट्रोल निःशुल्क पाउने कम्पनीले जनाएको छ। तर, यो सुविधा सबै ग्राहकले भने पाउने छैनन्।

कम्पनीका अनुसार यस अफर अन्तर्गत टीभीएसको मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्येबाट हरेक दिन लक्की ड्रमार्फत दुई जनाले १ देखि ५ वर्षसम्म पेट्रोल निःशुल्क पाउने छन्। ग्राहकले दैनिक २५ किलोमिटर गुडाउने गरी प्रतिलिटर ४० किलोमिटर माइलेजका दरले हिसाब गरी पेट्रोल उपलब्ध गराइने कम्पनीले जनाएको छ। यस आधारमा ग्राहकले मासिक १८ लिटर हाराहारी पेट्रोल पाउनेछन्।
त्यस्तै, यही अफरमा ग्राहकले दैनिक अधिकतम ५ लाख रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ। मोटरसाइकल वा स्कुटर खरिदलाई अझ सहज बनाउन सरल फाइनान्स स्कीम पनि ल्याएको छ। ग्राहकले मासिक न्यूनतम २ हजार ९६७ रुपैयाँमै किस्ताबन्दी सुविधा पनि पाउने छन्।
बजाज
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना ल्याएको छ। अब क्यूआर गरी क्यास तिर्ने हैन, क्यास जित्ने!’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो गर्ने मात्रै होइन पुरस्कार नै जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकले बजाजका आधिकारिक शोरुमहरू, विभिन्न सञ्चार माध्यम, सामाजिक सन्जाल लगायत जहाँसुकै राखिएका क्यूआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन्। हरेक दिन सहभागीहरू मध्ये भाग्यशाली एक जना विजेताले स्मार्ट वाच जित्नेछन्।
साथै, बजाज खरिदकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनले कम्पनीको भनाइ छ। कम्पनीका अनुसार हालसम्म क्यूआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद जित्ने नयाँ र उत्साहजनक अनुभव लिन सक्नेछन्।
भेस्पा
नेपालका लागि इटालियन स्कुटर ब्राण्ड भेस्पा एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्ष लक्षित ‘नयाँ युगको नयाँ राइड’ विशेष अफर घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले नगदमा स्कुटर खरिद गर्दा ८ हजार ३०० रुपैयाँ नगद छुट पाउने छन्। साथै एक्सचेञ्जमा १० हजार रुपैयाँको अतिरिक्त एक्सचेञ्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीले किस्ताबन्दीका स्कुटर खरिद गर्न चाहनेलाई बजारकै सबैभन्दा कम ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने छ।

नयाँ वर्षको माहोल अझ रोचक बनाउन अफर अवधिमा खरिद गर्ने हरेक ग्राहकलाई ब्राण्डेड फ्री एक्सेसरीज, जस्तै हेल्मेट र स्कुटर कभर उपलब्ध गराउने कम्पनीको भनाइ छ। त्यसैगरी, साप्ताहिक लक्की ड्रमार्फत ग्राहकहरूले रूपाकोट रिसोर्टमा विशेष लक्जरी गेटवे जित्ने मौका पाउनेछन्।
सेगवे
नेपालका लागि सेगवेको आधिकारिक वितरक आइहब प्रालिले नयाँ वर्षको अवसरमा विशेष अफर घोषणा गरेको छ। कम्पनीले पहिलो २५ ग्राहकका लागि आकर्षक ‘अर्ली बर्ड’ डिस्काउन्ट पनि घोषणा गरेको छ। जसअन्तर्गत ग्राहकले खरिद गर्ने मोडेलअनुसार अधिकतम ४१ हजार रुपैयाँसम्म बचत गर्न सक्ने छन्। कम्पनीले सेगवेको नेपाली बजारमा रुचाइएको ई११० एल मोडल पुनः स्टकमा ल्याउँदै २ लाख ८४ हजार ९९९ मा उपलब्ध गराइएको जनाएको छ। आइहबले दिइएको अफरअन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउने छन्। साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि पाउने छन्।