काठमाडौं । महान चाड विजया दशमीको बिदाका दिनमा पनि बैंकका काउन्टर खुल्ने भएका छन् । विशेष गरी वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंक काउन्टर खोल्न लागेका हुन् ।
दशैं बिदामा अधिकांश वाणिज्य बैंकहरुले आफ्ना शाखा खोल्ने गरी सूचना प्रकाशित गरेका छन् । सनराइज बैंकले असोज १८ देखि २२ गतेसम्म विभिन्न स्थानका बैंकका शाखा खोल्ने भएको छ । बैंकले काठमाडौं उपत्यकाभित्रका गैह्रीधारा, गाबहाल, भक्तपुर र न्युरोड शाखा खोल्ने भएको छ । त्यस्तै, उपत्का बाहिरका वीरगन्ज, गाइघाट, विराटनगर, पोखरा, नारायणघाट, राजविराज, गौर, धनगढी, महेन्द्रनगर र नेपालगन्ज शाखा खोल्ने बैंकले जनाएको छ ।
त्यस्तै, एनआईसी एसिया बैंकले पनि बिदाका दिनमा बैंकका शाखा खोल्ने जनाएको छ । बैंकले उपत्यकाभित्रका समाखुसी, कमालादी, सातदोबाटो, महाजगन्ज, न्युरोड, खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट, बालाजुलगायत स्थानका शाखा कार्यालय खोल्ने भएको छ । त्यस्तै, उपत्यका बाहिरका धनगढी–चौराहा, बुटवल, न्युरोड–पोखरा, लेकसाईड पोखरा, हेटौँडा, चन्द्रनिगाहापुर, विराटनगर, इटहरी, दमक, नारायणगढ, बुटवल, दुलेगौंडा, लिंकरोड, मिर्चैया, राजविराज, बर्दिवास, बाग्लुङलगायतका शाखा खुला रहने बैंकले जनाएको छ ।
मेगा बैंकले पनि सर्वसाधारणको सुविधाका लागि दशैं बिदामा बैंकका शाखा खोल्ने जनाएको छ । मेगाले उपत्यकाका न्युरोड–रन्जनागल्ली, कमलादी, ठमेल, जावलाखेल, बौद्ध, महाराजगन्ज शाखा खोल्ने भएको छ । बैंकले उपत्यका बाहिर ओखलढुंगा, भोजपुर, विराटनगर, इटहरी, वीरगन्ज, नारायणगढ, पोखरा, भैरहवा, बुटवल, धनगढी, विर्तामोडलगायत स्थानका शाखा खुल्ने जनाएको छ ।
अन्य वाणिज्य बैंकहरुले पनि दशैं बिदाका दिनमा शाखा खोल्न सूचना प्रकाशित गर्ने क्रममा रहेको जनाएका छन् ।