काठमाडाैं। ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न/गाभिनका लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
यसअघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभ्न/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चलरअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।
मर्जर पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४ सय अर्ब, कुल कर्जा ३सय ७९ अर्ब रूपैयाँ भन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ।
नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्।
साथै, दुवै बैंकले असोज मसान्त सम्म १ अर्ब ४७ करोड रूपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन्। दुई बैंकहरूको मर्जर पश्चात् कुल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिंङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढी ग्राहकहरूसहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ।
दुवै बैंकहरू एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्तालाई उच्च प्रतिफल दिने विश्वास बैंककाे छ।
हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्षहरूले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने सयुंक्त प्रतिबद्धता जनाए।
यस्तै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिंङ क्षेत्रको विकास हुने बताउँदै, ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुँच पुर्याउन र बैंकिंङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए।
ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू परिपालनामा सधैं पहिलो हुने गरेको बताउँदै उनले तदअनुरूप यो मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए। उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सम्पूर्ण हिसावले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
मर्जरपछि बन्ने नयाँ बैंक सबै प्यारामिटरमा पहिलो नम्बरमा रहने बताउँदै उनले पहिलो नम्बरमा आउने उद्देश्यले भन्दा पनि नियमन निकाय र बैंकको हितमा काम गर्दै जाँदा बैंक अहिलेको अवस्थामा पुगेको बताए। बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र समृद्धिमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए।
'मुलुकको आर्थिक रुपान्तरण र आर्थिक समृद्धिका लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ। त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बिओकेले गर्नेछ,' उनले भने। उनले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिंङ क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
साथै, उक्त कार्यक्रममा दुवै बैंकका अध्यक्षहरूले गाभ्नेरगाभिने प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहयोग पुर्याउने सरकार, राष्ट्र बैंक, बैंकका सञ्चालकहरू, सेयरधनी, कर्मचारीवर्ग, सञ्चार क्षेत्रलगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे। संयुक्त मर्जर समितिका संयोजक राधेश पन्तले मर्जर समितिले बैंकका लगानीकर्ता, कर्मचारी तथा समग्र बैंकलाई केन्द्रमा राखेर मर्जर समितिले काम गरेको बताउँदै दिगो र उच्च प्रतिफल दिन ठूलो बैंकले मात्र सक्ने बताए।