काठमाडौं। शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायबीचको सहकार्य आवश्यक भएको बताएका छन्।
१५ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले बिहिबार राजधानीमा गरेको प्रभातफेरी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले भौतिक पूर्वाधारको क्षेत्रमा चुनौती रहेकोसमेत बताएका छन्।
सरकार र निर्माण व्यवसायीहरू मिलेर अघि बढेमा मात्र भौतिक पूर्वाधारको ठूला योजना अघि बढ्न सक्ने मन्त्री चौधरीको भनाइ छ।
भौतिक पूर्वाधारको काम जनताको जनजीविका र समृद्धिसँग जोडिएको भन्दै मन्त्री चौधरीले जनताको पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीहरूलाई सुझाव दिएका छन्।
‘व्यवसायीहरूले पाउनु पर्ने रकम निकासा भएको छैन, कानून नै संशोधन गरेर भएपनि यस्तो समस्या समाधान गर्नुपर्छ’ मन्त्री चौधरीले भने। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू नै समृद्धिका सारथी भएको बताए। मुलुकको पूर्वाधार विकासमा सक्रिय निर्माण व्यवसायीहरू अहिले पनि विभिन्न समस्या झेल्न बाध्य भएको अध्यक्ष सिंहको भनाइ छ।
उनले भने, ‘निर्माण व्यवसायीमैत्री कानुन नभएसम्म निर्माण उद्योगले गति लिन सक्दैन।’ विगतका सरकारहरू निर्माण उद्योगको विकास विस्तारमा खासै संवेदनशील नभएको अध्यक्ष सिंहले आरोपसमेत लगाएका छन्।
अब गठन हुने नयाँ सरकारबाट निर्माण व्यवसायीहरूले निर्माण उद्योगको विकास विस्तारमा सकारात्मक परिणामको अपेक्षा गरेको उनको भनाइ छ। महासंघका महासचिव रोशन दाहालले निर्माण दिवस मुलुकको भौतिक समृद्धि चाहने सबैको राष्ट्रिय पर्व भएको जनाएका छन्।
सोही अवसरमा मन्त्री चौधरीले महासंघको मुखपत्र ‘निर्माण समाचार’ को विमोचनसमेत गरेका थिए। मन्त्री चौधरीसमेत सहभागी भएको बाजागाजा सहितको प्रभात फेरि दशरथ रंगशालाबाट सुरु भई त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरमा आई टुङगिएको थियो।
१५ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघ प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्। रक्तदाताहरूलाई नेपाल निर्माण व्यवसायी महासंघले प्रमाणपत्र प्रलान गरेको छ।