काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा छ भनेर अभिव्यक्ति नदिन व्यवसायीलाई आग्रह गरेका छन्।
बिहीबार राजधानीमा ‘फिन इलेक्ट्रो टेक-२०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले व्यवसायीसँग त्यस्ताे आग्रह गरेका हुन्।उनले भने 'निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ भनेर अभिव्यक्ति नदिनुस्।'
उद्योगी र व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको उनकाे भनाइ छ।
'उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग र व्यवसायमा लाग्नुपर्छ,' उनले भने 'सडक आन्दोलनमा नगइ उद्योग, व्यवसायमा लागेर उत्पादन बढाउनुस् ।'
सरकार व्यवसायीहरुका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरुले सडक रोज्न नहुने उनको भनाइ छ। उनले भने 'सरकारले कुनै पनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण दिनु हुँदैन।'
बैंकको ब्याजदर वृद्धि, चालू पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको बताउँदै उनले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक छ।
मन्त्री शर्माले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धिलगायतले उद्योग व्यवसायीका समस्या समाधानका लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदले दिएको सुझावअनुसार काम भइरहेको जानकारी दिए।
मन्त्रिपरिषद्मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको उनले बताए।