काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तोकिएको अवधि अर्थात् पुस ७ गतेभित्र पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्ने चेतावनी दिएको छ ।
प्राधिकरणले मंसिर ६ गते एक सूचना जारी गर्दै पुस ७ गतेभित्र टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने कम्पनीहरूलाई प्राधिकरणको पोल प्रयोग गरेबापतको भाडा शुल्क तिर्न निर्देशन दिएको थियो । तर, दिएको समयावधि सकिन एक सातामात्र बाँकी रहेको समयमा कुनै सेवा प्रदायक पनि सम्पर्कमा नआएको भन्दै प्राधिकरणले पुनः सूचना जारी गरेको हो ।
सूचनामा प्राधिकरणले आफ्नो विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाई सम्झौता गर्न र नवीकरण गर्न आग्रह गरेको छ ।
सेवा प्रदायकले हालसम्म सम्झौता गर्न वा सम्झौता नवीकरण गर्न नआएको र बक्यौता भाडा रकम नबुझाएको भन्दै प्राधिकरणले अब पनि अटेर गरेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको छ ।
पुस ७ गतेभित्र बक्यौता भाडा रकम भुक्तानी नगरेको खण्डमा र सम्झौताका लागि सम्पर्क नगरेमा सम्बन्धित सेवा प्रदायकलाई कारबाही गर्ने जनाउँदै प्राधिकरणले त्यसबाट सेवा प्रदायकका सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमा पनि मागेको छ ।
नेपाल विद्युत् प्राधिकरणकाअनुसार हालसम्म रकम नबुझाएका इन्टरनेट सेवा प्रदायकमा वेबसर्फर, भायनेट, मर्कन्टाइल, क्लासिक टेक, सुबिसु, एरोनेटलगायत छन् । यीनीहरुले विद्युत प्राधिकरणको नयाँ कार्यविधि, २०७५÷७६ आएदेखि रकम बुझाएका छैनन् ।
कम बुझाउनेमा सिजी, एनसेल, डिस मिडियालगायत मात्र रहेका छन् । साथै प्राधिकरणले दिएको जानकारीअनुसार वल्र्डलिंकले पनि रकम बुझाएका छ तर पोल भाडा सम्झौता भने गरेको छैन ।
विद्युत् प्राधिकरण बागमति प्रदेशकी उपनिर्देशक अनिता सुवेदीकाअनुसार २०७५/७६ मा आएको कार्यविधिले पोल भाडा महँगो भएको र सो र्काविधि एकतर्फी भएको भन्दै सेवा प्रदायकले भाडा बुझाउन अटेर गरेका हुन् ।
पहिला पोलको संख्याका आधारमा रकम असुल्दै आयको प्राधिरकणले नयाँ कार्यविधि ल्याएपछि केबुलको लम्बाइका आधारमा भाडा तिर्नुपर्ने व्यवस्था गरेको थियो । बढाइएको मूल्य समायोजन नगरेसम्म पोल भाडा सम्झौता नगर्ने र भाडा पनि नर्तिर्ने सेवा प्रदायकले बताउँदै आएका छन् ।
तर, लामो समयदेखिको रकम बाँकी भएको कारणले अब पनि रकम नबुझाउने सेवा प्रदायकलाई कारवाही गर्ने प्राधिकरणले जनाएको छ ।