काठमाडाैं। नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्।
सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन्। यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पाैडेल रहेका छन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार उम्मेदवारी दर्तापछि उनीहरूले मुलुकको अहिलेको आवश्यकता र जनताको चाहनाबमोजिम नै आफूहरूले उम्मेदवारी दिएको तर्क गरेका छन्।
सभापति देउवाका प्रस्तावक रहेका पार्टीका वरिष्ठ नेता पौडेलले मुलुकको अहिलेको आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान सक्ने अनुभवी नेतृत्वका लागि सभापति देउवाको उम्मेदवारी रहेको बताए। उनले सभापति देउवालाई सर्वसम्मतीले संसदीय दलको नेता बनाउनुपर्ने बताए।
यसैगरी सभापति देउवाका समर्थक रहेका पार्टी उपसभापति खड्काले संविधानको रक्षा र कार्यान्वयन, राजनीतिक स्थायित्व र मुलुकको उन्नति प्रगतिलाई द्रुत गतिमा अघि बढाउन तथा पार्टीको हितका लागिसमेत सभापति देउवाको नेतृत्व आवश्यक रहेको बताए। गठबन्धन दललाई मिलाएर लैजान सक्ने अनुभवको उपयोगिताको आवश्यकता र सबैले स्वीकार्ने नेतृत्वअनुसार सभापति देउवाको उम्मेवारी दिएकाे उनले बताए।
संसदीय दलको नेताका अर्का उम्मेदवार पार्टीका महामन्त्री थापाले परिवर्तनको चाहनालाई सँगै लिएर जानसक्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको बताएका छन्। उनले पार्टीलाई रुपान्तरण गर्नसक्ने र संसदिय कांग्रेसको तर्फबाट नेतृत्व गरेर गौरव गर्न लायक काम गरेर सरकार चलाउने प्रतिबद्धता जनाए। जनचाहनाअनुसार आफूले पार्टीलाई बदल्ने र देशलाई पनि बदल्ने क्षमताका साथ उम्मेदवारी दिएको उनकाे तर्क छ।
महामन्त्री थापाका प्रस्तावक रहेका पार्टीका नेता डा. कोइरालाले आफूहरुले विभिन्न चरणमा छलफल गरेर तथा स्थायित्व र निरन्तरताको एजेन्डाका साथ महामन्त्री थापालाई सर्मथन गरेको जानकारी दिए।
निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते बुधबार हुँदैछ।
कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिती’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो। कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ। निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभाका सदस्य हुन्।
मतदान बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा हुनेछ। समितीले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क ५१ हजार रूपैयाँ तोकेको छ। मतदान समाप्त भएपश्चात् मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ। पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरु पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन्।
कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ। कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ। उपदफा ९२० मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्छन्।