काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव र सचिवलाई एक महिनाभित्र सरकारी सेवा सुधार्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालले अबको एक महिनामा पनि नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिए जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।
प्रधानमन्त्री दाहालले नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै भने 'सरकारी सेवालाई सहज बनाउनुस्।'
कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर संघीय सरकारका सचिवहरू पन्छिन नपाउने उनको भनाइ छ।
जनताका लागि जिम्मेवार भएर काम गर्न उनले आग्रह गरे।
उनका अनुसार राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्सन सर्टिफिकेट”, सरकारी अस्पतालमा बिरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ।
आफूले कसैलाई दण्डित गर्न नचाहेको बताउँदै उनले भने 'हामीसँग रहेका सीमित विकल्प छन्। त्यो भनेको नतिजा देखिने कार्यसम्पादन हो र नभएका जिम्मेवार पदाधिकारी दण्डको भागी बन्नु हाे।'