काठमाडाैं। मोरङको उर्लाबारीमा आगामी माघ १९ देखि २८ गतेसम्म १० दिने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव– २०७९ हुने भएको छ। उर्लाबारी उद्योग वाणिज्य संघ उर्लाबारी–५ ले मंगलबार अन्तक्रिया कार्यक्रमको आयोजना गरी महोत्सवबारे जानकारी दिएको हो।
उर्लाबारीको पहिचान झल्किने सामग्रीको प्रदर्शनीमा जोड दिँदै विभिन्न जातजातिका परिकार, रहनसहनलाई पनि प्रवद्र्धन गर्नुपर्नेमा छलफलमा सामेल सरोकारवाला संस्थाका प्रतिनिधिले जोड दिएका छन्। महोत्सव स्थानीय औद्योगिक सामग्रीको प्रचारप्रसार र उर्लाबारीको पहिचानका लागि सञ्चालन हुने भएकाले यसलाई सफल पार्न यस क्षेत्रकै बासिन्दाको भूमिका रहने संघका पूर्व अध्यक्ष प्रितम खड्गीले बताए।
उर्लाबारी–४ स्थित नगरपालिका कार्यालय पूर्वपट्टि दुई बिघा क्षेत्रफलमा सञ्चालन हुने महोत्सवमा एक सय ५० कक्ष रहने तथा महोत्सवभरिमा २५ करोड रूपैयाँ भन्दा बढीको कारोबार गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक तथा संघका पूर्व अध्यक्ष भरत भट्टराईले जानकारी दिए।
उर्लाबारीमा यस पटक महोत्सवलाई भव्यताका साथ सफल पार्न उद्योग वाणिज्य संघले तयारीलाई तीव्र पारेको अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिए। महोत्सवले यहाँका पर्यटकीय क्षेत्र र उत्पादित सामग्रीको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने भएकाले महोत्सवको प्रचारप्रसारमा सबै लाग्नुपर्नेमा संघका महासचिव हेमराज गुरुङले जोड दिए।
महोत्सव आयोजना सञ्चालनसम्बधी छलफलमा उर्लाबारी नगरपालिका प्रमुख गङ्गाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, विभिन्न राजनीतिक दलका स्थानीय प्रमुख व्यक्ति, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन थापा, सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीका प्रहरी निरीक्षक मनोज निरौला, होटल तथा पेयपदार्थ व्यवसायी संघका अध्यक्ष मनोहरि दाहाल र प्रितम खड्गीलगायतले उर्लाबारीको नाम र पहिचानलाई प्रवर्द्धन गर्न महोत्सवलाई भव्यताका साथ सफल पार्नुपर्ने धारणा राखेका थिए।