काठमाडौं। प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन रोकिएको छ । नयाँ वर्ष मनाउन चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएपछि अध्ययनको काम रोकिएको हो।
पुस १२ गते चिनियाँ प्राविधिकको टोली नेपाल आएर अध्ययनको काम सुरु गरेको थियो। तर, चीनको महत्वपूर्ण पर्व मनाउन प्राविधिकको टोली स्वदेश फर्किँदा अध्ययन कार्य एक महिना प्रभावित हुने भएको हो।
रेल विभागका महानिर्देशक रोहितकुमार विसुराल भन्छन्, ‘हाम्रो दसैं–तिहार जस्तै उनीहरुको चाड रहेछ, त्यसको लागि ३/४ दिनअघि उनीहरु स्वदेश फर्किएका छन्। फेब्रुअरीको अन्तिमतिर नेपाल आउने जानकारी छ।’ मार्चको पहिलो हप्ताबाट फेरि नियमित रूपमा अध्ययनको काम हुने उनको भनाइ छ।
१२ गते नेपाल आएको सो टोलीले रेल विभागसँग पुस १३ गते छलफल गरेको थियो। छलफलमा सम्पर्क कार्यालय काठमाडौंमा राखेर अध्ययनका लागि फिल्ड जाने उनीहरुको तयारी भए पनि हालसम्म कार्यालय राखेको विषयमा कुनै जानकारी विभागलाई दिएको छैन।
चीनको ‘चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप’बाट ६ जनाको टोली नेपाल आएको थियो । तत्कालका लागि अध्ययन कार्य ६ जनाले नै गर्ने छन्। नेपालका प्राविधिकहरु चीनले प्रयोग गर्दैन। अन्य आवश्यक सहयोग मात्रै नेपालले गर्ने छ।
चाइना प्राविधिकको टोलीलले अध्ययन सुरु भएको ४२ महिना अर्थात् साढे ३ वर्षमा विस्तृत सम्भाव्यता अध्ययनको काम सम्पन्न गर्नुपर्ने हुन्छ।
केरुङ–काठमाडौं क्षेत्रमा पहाड तथा चट्टान पर्ने भएकाले रेल सञ्चालनका लागि पुल निर्माण तथा पहाड छेड्नुपर्ने हुन्छ। २०७८ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला नेपाल र चीनका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने समझौता भएको थियो।
यसअघि भएको प्रारम्भिक अध्ययनअनुसार केरुङ–काठमाडौं रेलमार्गको लम्बाइ ७२ किलोमिटर हुने अनुमान छ। यद्यपि सो लम्बाइ विस्तृत सम्भाव्यता अध्ययनको रिपोर्ट आएपछि परिवर्तन हुन सक्नेछ।
सो रेलमार्ग निर्माणका लागि २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने आकलन गरिएको छ। रेलमार्ग अध्ययनको सम्पूर्ण काम र लागत चीनले नै गर्ने छ। विस्तृत सम्भाव्यता अध्ययनको खर्च भने खुलाइएको छैन।