काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनचाँदीका मौलिक गरगहना निर्यात गरेर व्यापार घाटा न्यूनीकरणमा सघाउन व्यवसायीलाई आग्रह गरेका छन् ।
व्यापार घाटा वर्षेनि बढ्दै गएको उल्लेख गर्दै उनले आयातित सुनचाँदीमा मूल्यअभिवृद्धि गरेर त्यसलाई विश्व बजारमा पुर्याउन आग्रह गरेका हुन् ।
राजधानीमा शनिबार आयोजित नेपाल सुनचाँदी कला व्यवसायी संघको १८ औं वार्षिक साधारणसभा एवम् आठौं केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले विश्वभर नेपाली पुगेका छन्, उनीहरुले नेपाली मौलिक गरगहना खोज्छन्’ मन्त्री भट्टले भने, ‘विश्वभर छरिएर रहेका नेपालीलाई मात्रै सुनचाँदीका गरगहना निर्यात गर्न सक्यौं भने पनि त्यसले व्यापार घाटा घटाउन मद्दत मिल्छ ।’
उनले गरगहना निर्यात गरेर नेपालको कलालाई विश्वभर पुर्याउनेतर्फ लाग्न समेत व्यवसायीलाई आग्रह गरे ।
निर्देशिका छिट्टै ल्याउँनेछौं
उद्योगमन्त्री भट्टले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउन निर्देशिका समेत छिट्टै ल्याउने बताएका छन् । ‘तपाई व्यवसायीहरुले निर्देशिका नहुँदा समस्या भएको बताउनु भएको छ’ उनले भने, ‘निर्देशिका निर्माणको चरणमै होला, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग समन्वय गरेर जतिसक्दो चाडो निर्देशिका ल्याउने छौं ।’
मन्त्री भट्टले मौलिक कला तथा सीप प्रवद्र्धन तथा कालिगढ उत्पादनमा सघाउन समेत सरकार तयार रहेको बताए ।
समस्या सुल्झाउन व्यवसायीको माग
उक्त अवसरमा व्यसायीहरुले सनुचाँदी व्यवसायमा देखिएका समस्या समाधानको लागि उद्योगमन्त्रीलाई आग्रह गरे । संघका अध्यक्ष द्ववारिक विश्वकर्माले सुनचाँदी व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउन छिटोभन्दा छिटो निर्देशिका ल्याउनुपर्ने बताए ।
उपाध्यक्ष घनश्याम रिजालले काठमाडौं बाहिर प्रदेश–प्रदेशबाट समेत सुन वितरणको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे । उनले सुनचाँदी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेर व्यवसायीलाई मद्दत गरेमा यस क्षेत्रले राजश्व र विदेशी विनिमय आयमा ठूलो योगदान दिने बताए ।
कार्यक्रममा प्रदेश ३ का प्रदेशसभा सांसद पशुपति चौलागाईं, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठ, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनार, नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।