काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको नयाँ जहाजलाई पोखरा, जनकपुर र सिमरा उडान अनुमती रोकेको छ । व्यस्त रुट मानिने पोखरालगायत २ गन्तव्यमा प्रतिस्पर्धी एयरलाइन्सको प्रभाव र दबाबका कारण क्यानले श्री एयरलाइन्सको नयाँ जहाजलाई उडान अनुमति नदिएको क्यान स्रोतले क्यापिटल नेपाललाई जानकारी दिएको छ ।
क्यानले तीन विमानस्थलको रन वे को क्षमता अध्ययन नभएको भन्दै तत्कालका लागि उडान अनुमती नदिएको जनाएको छ । तर, जहाज ल्याउनुअघि नै रनवेको क्षमताको आधारमा जहाज ल्याउनका लागि क्यानले अनुमती दिने गर्छ । कम्पनीले जहाज ल्याउने बेलामा नै कुन रुटमा उडाउने भनेर पहिलालाई नै क्यानलाई जानकारी गराएको हुन्छ ।
श्रीले गत भदौमा ल्याएको दुई ओटा जहाजले नयाँ गन्तव्यमा उडान गर्ने तयारी गरेको थियो । श्रीसँग रहेको क्यू ४०० जहाज ८० सिट क्षमताको रहेको छ । सो जहाज नेपालको आन्तरिक उडानको सबैभन्दा ठूलो हो । हालसम्म ७२ सिट क्षमताको जहाज मात्र सञ्चालनमा रहेको छ । ठूलो क्षमताको जहाज ल्याउन अनुमती संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै दिएको हो ।
मन्त्रालयको अनुमतिपछि क्यानले पनि अनुमति दिने गर्दछ । क्यानले रनवेको क्षमता निर्धारण नभएको भन्दै श्रीको नयाँ जहाजलाई टेष्ट फ्लाइट समेत गर्न दिएको छैन् । श्रीले अहिले जहाज विराटनर, धनगडी, नेपालगञ्जमा उडान गर्दै आएको छ । एयरपोर्टमा राखिराख्नुभन्दा घाटा खाएर तीन ठाउँमा उडान भरिरहेको एयरलाइन्सले जनाएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईले एयरलाइन्सहरुलाई अन्तरप्रदेश उडान गर्न निर्देशन दिइरहेको बेला श्रीले टेष्ट फ्लाइट समेत गर्न पाएको छैन् । पोखरामा अहिले बुद्ध, यती र सिम्रिक एयरलाइन्सले मात्र उडान गर्दै आएका छन् । श्रीले उडान सुरु गरेपछि प्रतिस्पर्धामा जानुपर्ने भएकाले अरु एयरलाइन्स कम्पनीले क्यानका केहि अधिकारीहरुलाई प्रभावमा पारेर उडान अनुमति नदिएको श्रोतको दावी छ । श्री एयरलाइन्सले नयाँ गन्तव्यमा उडान भरेपछि अहिलेको भाडाभन्दा सस्तो हुने यसअघि नै घोषणा गरेको थियो ।
क्यानका निर्देशक प्रदिप अधिकारीले रन वे को क्षमता अध्ययन गर्न क्यानले तयारी थालेको जानकारी दिए । ‘कुन विमानस्थलमा कुन क्षमताको जहाजले उडान गर्न मिल्छ भन्ने एकिन भएपछि मात्र श्रीको जहाजले उडान अनुमति पाउँछ,’ उनले भने ।
याे पनि पढ्नुहाेस्
श्री एयरलाइन्स जसले एक वर्षमै ५० प्रतिशत भाडा घटायो