काठमाडौं। नागढुङ्गा सुरुङ निर्माण आयोजनाअन्तर्गत आपत्कालीन उद्धार सुरुङ (रेस्क्यु टनेल)को सोमबार ‘ब्रेक थ्रु’ भएको छ । उक्त सुरुङमार्ग वारपार छिचोलिएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताइएको छ।
नेपालको यातायात क्षेत्रको पहिलो आधुनिक सुरुङमार्ग निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको हो। नागढुङ्गा सिस्नेखोला सुरुङमार्गअन्तर्गत उक्त सुरुङको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकाले दुवै देशको संस्कृतिअनुसार पूजा गरेर ‘ब्रेक थ्रु’ गरे।
![364411711_246674011576147_4227468124892299593_n1691411940.jpg](https://www.capitalnepal.com/uploads/posts/364411711_246674011576147_4227468124892299593_n1691411940.jpg)
मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आपत्कालीन सुरुङ भने छिचोलिएको हो । आपत्कालीन उद्धार सुरुङको सफल ‘ब्रेक थ्रु’ उत्सवका अवसरमा मन्त्री ज्वालाले यो शुभारम्भ ऐतिहासिक र गौरवपूर्ण दिन भएको बताए ।
यो आयोजनाको सुरुआत धादिङको धुनीवेशी नगरपालिकाबाट भई काठमाडौँको चन्द्रागिरि नगरपालिकामा अन्त्य हुनेछ । आयोजनाको दोस्रो पटक म्याद थपपश्चात अप्रिल २०२४ मा सम्पन्न गर्ने समयावधि रहेको छ ।
आयोजनाको कुल लागत २० अर्ब ६० करोड मध्ये जाइकाले १५ अर्ब ८० करोड रुपैयाँ सहुलियत ऋणमार्फत उपलब्ध गराउने छ भने बाँकी ४ अर्ब ८० करोड रुपैयाँ नेपाल सरकारले व्यहोरेको छ।
![364725925_300180346021071_1291099003793681356_n1691411941.jpg](https://www.capitalnepal.com/uploads/posts/364725925_300180346021071_1291099003793681356_n1691411941.jpg)
साढे दुई किलोमिटर लम्बाइ र साढे चार मिटर चौडाइको आपत्कालीन सुरुङमा सातवटा क्रस प्यासेज राखिएको छ । सुरुङभित्र कुनै दुर्घटना हुँदा वा अन्य कारणले मुख्य सुरुङ अवरुद्ध हुँदा प्रयोगमा ल्याउन मुख्य सुरुङसँगै निर्माण गरिएको आकस्मिक सुरुङ छिर्न मुख्य सुरुङमा सातवटा गेट राखिएको छ।
आयोजनाको मुख्य सुरुङको लम्बाइ भने दुई हजार छ सय ८८ मिटर छ । त्यसमध्ये सोमबारसम्म दुई हजार एक सय ८६ मिटर सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको छ । मुख्य सुरुङ खन्न अब पाँच सय दुई मिटर मात्र बाँकी छ । आगामी मङ्सिरसम्ममा मुख्य सुरुङ पनि वारपार छिचोल्ने गरी काम भइरहेको छ।
![364993911_930492408051136_2114514604873532285_n1691411973.jpg](https://www.capitalnepal.com/uploads/posts/364993911_930492408051136_2114514604873532285_n1691411973.jpg)
विसं २०७६ कात्तिक ६ गते सुरुङमार्गको औपचारिक शिलान्यास भए पनि सुरुङ खन्ने काम भने झन्डै १४ महिनापछि २०७७ पुस ८ गतेदेखि मात्रै सुरु भएको हो। काठमाडौँ उपत्यकाको मुख्य प्रवेश विन्दु मानिने नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायुप्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुनेछ।
![364824012_1329430034598444_8486267615470941965_n1691411973.jpg](https://www.capitalnepal.com/uploads/posts/364824012_1329430034598444_8486267615470941965_n1691411973.jpg)
मुलुकका प्रमुख सहरसँग सम्पर्क गर्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक नारायणगढ–मुग्लिन–नौबिसे–काठमाडौँ खण्डमा पर्ने नागढुङ्गा भञ्ज्याङमा सुरुङमार्ग निर्माण गरिएको हो। जापानी कम्पनी हाजमा एन्डो करर्पोरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ । आयोजनाअन्तर्गत हाल बलम्बुमा ‘फ्लाईओभर’ निर्माण कार्यसमेत भइरहेको छ ।
![363940407_746100660516909_7687297754902920819_n1691411954.jpg](https://www.capitalnepal.com/uploads/posts/363940407_746100660516909_7687297754902920819_n1691411954.jpg)
![364822114_763260805486252_1550655784292267564_n1691411943.jpg](https://www.capitalnepal.com/uploads/posts/364822114_763260805486252_1550655784292267564_n1691411943.jpg)
![364661989_234986862306547_6303090271297001425_n1691411940.jpg](https://www.capitalnepal.com/uploads/posts/364661989_234986862306547_6303090271297001425_n1691411940.jpg)