काठमाडौं। मधेस प्रदेशमा धान खेतीको सम्भावना र किसानसँग सहकार्य गर्ने विषयमा छलफल गर्न बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत तराई/मधेस झरेका छन्।
लामो समयदेखि कोसीको मोरङस्थित बेलबारीमा किसानसँग मिलेर धान खेतीसँगै आरजु राइस मिल सञ्चालन गर्दै आएका बस्नेतले मधेसमा पनि छलफल अगाडि बढाएका हुन्।
बस्नेत निकट एक व्यवसायीका अनुसार उनले आरजु राइस मिलकै मोडलमा मधेस प्रदेशमा किसानसँग साझेदार गरेर धान खेती गर्ने सोच बनाएका छन्। मधेस प्रदेश सरकार र त्यहाँका किसानसँग कुरा मिलेमा २ अर्बभन्दा बढी लगानी त्यस क्षेत्रमा गर्ने योजना उनले बनाएको ती व्यवसायीको भनाइ छ।
‘धान खेतीको मूख्य उर्बर भूमि भनेकै मधेस भएकाले बस्नेतले त्यस क्षेत्रका किसानसँग मिलेर धान खेतीलाई अगाडि बढाउने सोच राख्नुभएको छ,’ उनी निकट एक उच्च अधिकारीले भने, ‘बुधबार छलफलमा कुरा मिले लगानी विस्तार गर्नुहुनेछ।’
केही साताअघि मात्र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बेलबारीमा रहेको आरजु राइस मिलको अध्ययन गर्न पुगेका थिए। त्यहाँ सञ्चालित मिल र किसानसँगको सहकार्यबारेमा जानकारी लिएका मुख्यमन्त्री यादवले मधेस प्रदेशमा समेत सहकार्य गरेर अगाडि बढ्न सञ्चालक बस्नेतलाई आग्रह गरेका थिए।
त्यति मात्र हैन, वैशाख ३ गते प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग गरेको छलफलको क्रममा मधेस प्रदेशका मुख्यमन्त्री यादवले आरजु राइस मिलको मोडलबारेमा चर्चा गरेका थिए।
‘धान खेतीको सम्भावना भएका प्रदेशहरूमा बस्नेतले सञ्चालन गरिरहेको आरजु राइस मिलको मोडलमा खेती गर्न लगाउनुपछर्’, छलफलमा चलेको भनाइलाई उदृत गर्दै एक उच्च अधिकारीले भने, ‘म बस्नेतज्यूलाई मधेसमा लैजान चाहन्छु, तपार्इंहरू पनि उहाँसँग सहकार्य गर्न सक्नुहुनेछ।’
बस्नेतले आरजु राइस मिलकै मोडलमा मधेस प्रदेशमा किसानसँग साझेदार गरेर धान खेती गर्ने सोच बनाएका छन्।
मुख्यमन्त्री यादवको प्रस्तावमा प्रधानमन्त्री शाहले मौन सर्मथन गरेका थिए। मुख्यमन्त्रीसँगको छलफलमा प्रधानमन्त्री शाहले आफ्नो आफ्नो क्षेत्रमा हुने सम्भावनाबारे चर्चा गर्दै किसान र कृषिलाई प्राथमिकता दिने विषयलाई जोड दिएका थिए।
मुख्यमन्त्री यादवकै प्रस्तावमा मधेस प्रदेशमा धान खेतीको अवस्था र सहकार्यको विषयमा छलफल गर्न बुधबार बस्नेतसहितको टिम मधेसमा पुगेका हुन्। बस्नेतसँग राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ता एवं सांसद मनिष झासमेत पुगेका छन्।
सांसद झा धनुषा ३ बाट निर्वाचित हुन्। आफ्नो क्षेत्र रहेका किसानको आयआर्जन बढाउने उद्देश्यसहित आरजु राइस मिलको मोडलमा धान खेती सञ्चालन गर्ने योजना उनले बनाएका छन्।
मधेसका हरेक क्षेत्रमा धान खेती हुने भएकाले बस्नेतले कुन क्षेत्रमा लगानी गर्ने वा सहकार्य गर्ने टुंगो भने लागेको छैन। अन्य प्रदेशको तुलनामा मधेसमा सिँचाइका लागिसमेत राम्रो सुविधा छ। त्यहाँ कोसी, कमला, बागमती, नारायणी नदीलगायतबाट पर्याप्त मात्रामा सिँचाइ सुविधा छ।
के हो आरजु राइस मिल मोडल?
बस्नेतले २०७९ मा ४० करोड लगानी गरेर बेलबारीमा २ बिघा क्षेत्रफलमा आरजु राइस मिल सञ्चालन गरिरहेका छन्। करिब ४ हजार ५ सय किसानलाई आबद्ध गरेर धान खेती किसानसँग सहकार्य गर्दै आएका छन्।
उनले किसानलाई आरजु राइस मिलले बजारको मागअनुसारको धान उत्पादन गर्न आवश्यक सहयोग गर्नेदेखि लिएर पहिले नै तोकिएको मूल्यमा धान खरिद गर्छ। यसरी खरिद गरिएको धानबाट चामल बनाएर बजारमा पठाउने गरेको छ।
योसँगै किसानले मिलमा धान ल्याएको २४ घन्टाभित्रै खातामा पैसा जम्मा गरिदिनेसमेत गरेको छ। यसो हुँदा धान बिक्री चिन्ता पनि नहुने र बिचौलियाले सस्तोमा किनेर महँगोमा बेच्ने भन्ने डर पनि नरहेको किसानको भनाइ छ।
३२ अर्ब ५१ करोडको धानचामल आयात
चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत)मा ३२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको धानचामल आयात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा मुलुकमा ६ लाख ३८ हजार ७ सय ८७ टन धान, चामल, कनिका र बिउ आयात भएको हो।
गत आव २०८१/८२ सोही अवधिमा ३२ अर्ब १२ करोड ९७ लाख बराबरको ६ लाख ५० हजार ४६ टन धानचामल आयात भएको थियो।