काठमाडौं। अभिमन्यु गोल्छा पढाइ सकेर नेपाल फर्किंदा उनका लागि व्यवसाय बनिबनाउ थियो।
एक शताब्दी लामो व्यावसायिक यात्रा गरेको गोल्छा ग्रुपमा उनका लागि पद, क्याबिन, कर्मचारीलगायत केही कुराको पनि अभाव थिएन।
यति हुदाँहुँदै उनी पारिवारिक लिगेसीभन्दा केही फरक बाटोमा हिँड्न चाहन्थे। उनको यही सोचले अहिले मूर्तरूप लिएको छ। उनले बाइक पारखीका लागि काठमाडौं नक्सालमा भव्य ‘बाइकर्स क्याफे’ सञ्चालनमा ल्याएका छन्।
हिमालयन जाभासँग सहकार्य गरिएको यस क्याफेमा सामान्य क्याफेमा भन्दा केही फरक दृष्य देख्न पाइन्छ। क्याफेमा राखिएको बाइक, राइडिङ गियर, हेल्मेटलगायत कुराले यसको एम्बियन्सलाई फरक बनाएको छ।
आजबाट सर्वसाधरणका लागि खुला गरिएको यस क्याफेमा बाइक पारखीले छलफल गरुन्, टुर प्लान गरुन् भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उनी बताउँछन्।
‘नेपालमा राइडिङ कल्चर र राइडर्स क्लब धेरै बढिसकेका छन्। यस्तै सोच भएकाहरू छलफल गर्न, प्लान गर्न र अनुभव साटासाट गर्ने ठाउँ मैले देखिनँ। त्यसैका लागि यो क्याफे बनाइएको हो,’ अभिमन्युले क्यापिटल नेपालसँग भने।
![368685026_3567079296906644_1783363924119746475_n-1699535830.jpg](https://www.capitalnepal.com/uploads/posts/368685026_3567079296906644_1783363924119746475_n-1699535830.jpg?timestamp=1699535857735)
त्यस्तै यो क्याफेमा जुनसुकै ब्रान्डका बाइकसम्बन्धी इभेन्टका लागि ठाउँ भाडामा लिन सकिन्छ।
अभिमन्यु यो क्याफे बनाउन जुटेको एक वर्ष भयो। एक वर्षअघि उनले क्याफेको आइडिया सुनाउँदा उनका बुबा शेखर गोल्छाले पनि सुरुमै मन पराए।
बुबाको अनुमतिपछि उनी ठाउँ खोज्न लागे। भाग्यवस उनले अटोमोबाइलको हब मानिने नक्सालमा खालि ठाउँ पाए र संरचना निमार्णमा जुटे।
![385526174_2337004849828301_8633867696330406270_n-1699535829.jpg](https://www.capitalnepal.com/uploads/posts/385526174_2337004849828301_8633867696330406270_n-1699535829.jpg?timestamp=1699535873962)
‘मलाई क्याफे बनाउन मात्र नभई राइडर्सको भावनासँग जोडिनु थियो। त्यसका लागि हामीले क्याफेको एम्बियन्समा धेरै ध्यान दिएका छौं,’ उनले भने, ‘ अवलोकनकर्ताले विभिन्न ब्रान्डका मोटरसाइकल, राइडिङ गियर, हेल्मेट, स्पेयर पार्ट्स तथा अन्य एसेसरिज देख्न, बुझ्न र खरिद गर्न पाउनु हुनेछ। क्याफेको प्रत्येक कुनामा बाइकसम्बन्धी केही न केही कथा छ।’
हाल चिया, कफीलगायत पेय पदार्थ पाउने यस क्याफेमा तिहारपछि फुलफ्लेज मेनु राख्ने उनको तयारी छ। यसको लागि किचेन स्टाफ पनि तयार पारिसके।
![368022241_2553320278183139_5554429896892262868_n-1699535830.jpg](https://www.capitalnepal.com/uploads/posts/368022241_2553320278183139_5554429896892262868_n-1699535830.jpg?timestamp=1699535889237)
अभिमन्यु आफैं पनि बाइकप्रेमी हुन्। कुनै नयाँ मोडेल आयो कि उनी टेस्ट राइडमा निस्किहाल्छन्। अमेरिकामा अध्यन सकेपछि उनले भारतस्थित बजाज कम्पनीमा पनि काम गरे।
सन् २०१८ मा नेपाल फर्किएपछि पारिवारिक व्यवसायको जिम्मेवारी सम्हालेका उनले हाल गोल्छा ग्रुपअन्तर्गत अटोमोबाइल क्षेत्र हेर्छन्।
गोल्छा ग्रुपले हाल बजाज, केटिएम, हक्स भर्ना ब्रान्डका मोटरसाइकल नेपालमा बिक्री वितरण गर्छ भने टायर, लुब्रिकेन्ट, फइनान्ससम्बन्धी पनि काम गर्छ। अभिमन्युले यो क्याफेलाई विस्तार गर्ने योजना पनि बनाएका छन्।
![385540797_1403439483862218_1552682577140343497_n-1699535829.jpg](https://www.capitalnepal.com/uploads/posts/385540797_1403439483862218_1552682577140343497_n-1699535829.jpg?timestamp=1699535902191)
‘केही समय यो क्याफे चलाउँ। यो सफल भएपछि पोखरा, भक्तपुरलगायत ठाउँमा पनि बाइकर्स क्याफे बनाउने सोच छ,’ उनले भने।