काभ्रेपलाञ्चोक। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताए। ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को बुधबार शिलान्यास गर्दै प्रधानमन्त्रीले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताए।
“प्रमको हैसियतले म पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको सुरुआतको सन्देश दिनेछु, यसबाट नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत हुनेछ, हाइड्रोजन उत्पादनका लागि प्रचुर सम्भावना भएकाले अब क्लिन इनर्जी–ग्रीन इनर्जीलाई क्यास गर्नुपर्छ”, प्रम दाहालले भने।
उनले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा हालै ल्याइएको हाइड्रोजन गाडी आफू चढेर उद्घाटन गर्ने र हाइड्रोजनबाट चल्ने गाडीको प्रवद्र्धन गरी नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत गर्ने बताए।
पाँचखाल नगर प्रमुख महेश खरेलले महिलालाई उद्यमी बनाउने उद्देश्यले पार्क निर्माण हुने उल्लेख गर्दै स्थानीय उत्पादनलाई मूल्य थप गर्नको लागि उद्योग फलदायी हुने र वार्षिक रु एक अर्ब निर्यात गर्ने लक्ष्य लिइने बताए।
दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा ग्राम निर्माण हुन लागेको हो।
मञ्चका भौतिक संरचना निर्माणका लागि रु ९६ करोड लाग्नेमध्ये पहिलो चरणमा रु ४० करोडको ठेक्का लाग्ने जनाइएको छ। पार्कभित्र प्रशिक्षण केन्द्र, गोदाम, कोल्ड स्टोरेजका साथै कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित कार्य हुनेछन्। नगरले पक्की पहुँचमार्ग निर्माण गरेको छ भने खानेपानीको व्यवस्थापन गरिरहेको छ।
मञ्चसँग पाँचखाल नगरले वडा नं ७ मा करिब पाँच हेक्टर (९८ रोपनी) जग्गा २५ वर्षका लागि उपलब्ध गराउने त्रिपक्षीय सम्झौता भएको थियो। मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालका अनुसार पार्कभित्र ५० वटा लघु, मझौला र साना उद्योग स्थापना हुनेछन्। स्थानीय कच्चा पदार्थलाई प्राथमिकता दिएर उद्योगमा प्रयोग गरिने रिजालले बताए।