काठमाडौं। श्रीकृष्ण ओयल रिफाइनरी एण्ड भेजिटेबल घी इन्डस्ट्रिजको व्यापारमा पछिल्लो एक वर्षमा ठूलो उतारचढाव देखिएको छ। नेपालको खाद्य तेल बजारमा तीन दशकभन्दा लामो समयदेखि आफ्नो बलियो उपस्थिति जनाउँदै आएको श्रीकृष्ण ओयलले आर्थिक वर्ष २०२५ मा ४ अर्ब १० करोड रुपैयाँ बढीको व्यापार गरेको हो।
आर्थिक वर्ष २०२४ मा उद्योगले जम्मा ७ करोड ३० लाख रुपैयाँको मात्रै व्यापार गर्ने सकेको यो उद्योगले एक वर्षमै ४६१ प्रतिशतले व्यापार बर्ढाको हो। आव २०२२ मा ३ अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेको कम्पनीको व्यापर आव २०२३ मा घटेर १ अर्ब ५० करोड र आव २०२४ मा थप खुम्चिएर ७ करोड ३० लाखमा सिमित भएको थियो।
व्यापार घट्न थालेपछि उद्योगले सुधारका लागि दुई वर्षअघि बैंक ऋण लिएको थियो। उक्त ऋणको सीमा बढाएर क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले पौने ५ अर्ब बढी कायम गरेको गरेको छ। जसमध्ये ३ अर्ब ६८ करोड रुपैयाँ अल्प कालीन ऋणमा ‘ए–फोर’ र १ अर्ब १५ करोड १८ लाख ६० हजार रुपैयाँ दीर्घ कालीन ऋणमा ‘डबल–बि माइनस’ रेटिङ इन्फोमेरिक्सले उद्योगलाई दिएको छ।
रेटिङ रिपोर्टअनुसार रेटिङ गरेको ४ अर्ब ८३ करोड १८ लाख रुपैयाँको ऋणमध्ये अधिकांश रकम कम्पनीले पहिले उपयोग गरिरहेको एक्जिस्टिङ ऋण हो भने केही नयाँ ऋण पनि प्रस्ताव गरेको छ। रिपोर्टअनुसार उद्योगले ३७ करोड ७३ लाख रुपैयाँ टर्म लोन, ६४ करोड ९४ लाख पर्मानेन्ट वर्किङ क्यापिटल लोन र ३ अर्ब ६८ करोड अल्पकालीन ऋण पहिलेदेखि नै उपयोग गरिरहेको छ। उद्योगले थप १२ करोड ५० लाख रुपैयाँ बराबरको नयाँ टर्म लोन लिनका लागि प्रक्रिया अगाडि बढाएको छ।
व्यापार विस्तारका लागि बैंकबाट ऋण लिएर लगानी गरेसँगै गत वर्षदेखि नै उद्योगको व्यापार बढेको हो।
आर्थिक वर्ष २०२४ को अन्त्यमा उद्योगको कुल ऋण २ अर्ब ५१ करोड १० लाख रुपैयाँ थियो। आर्थिक वर्ष २०२५ को अन्त्यमा व्यापार विस्तारसँगै ऋण बढेर २ अर्ब ७४ करोड ६० लाख रुपैयाँ पुगेको छ। सन् २०२६ को मध्य जनवरीसम्म आइपुग्दा कम्पनीको कुल ऋण र इक्विटीको अनुपात बढेर ८.८६ गुणा पुगेको छ। जसले ऋणको अझै बढी उपयोग भइरहेको संकेत गर्छ।
व्यापार विस्तारका लागि बैंकबाट ऋण लिएर लगानी गरेसँगै गत वर्षदेखि नै उद्योगको व्यापार बढेको हो। चालू वर्षको ६ महिना आइपुग्दा नै उद्योगले व्यापारमा फड्को मारेको देखिन्छ।
भारतीय बजारमा भएको निर्यातमा उल्लेख्य वृद्धि हुनुलाई यसको मुख्य कारण मानिएको छ। चालू आव २०२६ को पहिलो ६ महिना (पुस मसान्त) सम्मको तथ्यांक हेर्दा कम्पनीले २ अर्ब ५९ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ। कम्पनीको वित्तीय विवरणअनुसार व्यापारसँगै नाफामा पनि सुधार देखिएको छ। आर्थिक वर्ष २०२३ र २०२४ मा क्रमशः ७ करोड र १७ करोड ८० लाख रुपैयाँ घाटामा रहेको यो कम्पनीले आर्थिक वर्ष २०२५ मा १० करोड १० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
यद्यपि, कम्पनीको सञ्चालन नाफा मार्जिनमा भने केही गिरावट आएको छ। आर्थिक वर्ष २०२४ मा १२.१३ प्रतिशत रहेको यस्तो मार्जिन २०२५ मा घटेर ९.१९ प्रतिशतमा झरेको छ भने चालू आर्थिक वर्षको ६ महिनामा ५.९५ प्रतिशत कायम छ।
सन् १९९५ मा स्थापना भएको एचपी अग्रवाल समूह अन्तर्गतको यो उद्योगले हेल्थ, सोयालाइट, सनलाइट, टोरीगोल्ड, डायमण्ड र नित्यफ्रेस जस्ता ब्राण्डमा खाने तेल र घिउ उत्पादन गर्दै आएको छ। कम्पनीको राजस्वमा निर्यातको हिस्सा निकै बलियो छ।
बाराको सिमरामा कारखाना भएको यो उद्योगको नेतृत्व तीन दशकभन्दा लामो अनुभव भएका मनोज कुमार अग्रवालले गरिरहेका छन्।
आर्थिक वर्ष २०२५ मा कुल राजस्वको ८७ प्रतिशत हिस्सा निर्यातले ओगटेको थियो भने चालु आर्थिक वर्षको ६ महिनामा निर्यातको हिस्सा ८१ प्रतिशत रहेको छ। भारत बाहेक उद्योगको उत्पादन अर्जेन्टिना, ब्राजिल, अष्ट्रेलिया, सिंगापुर, स्विजरल्याण्ड, इन्डोनेसिया, मलेसिया, युक्रेन र नेदरल्याण्डमा पनि निर्यात हुन्छ।
श्रीकृष्ण ओयल रिफाइनरीको पूँजी संरचना भने निकै जोखिमपूर्ण र ऋणमा आधारित देखिएको छ। कार्यगत पूँजीका लागि उद्योगले अल्पकालीन ऋणमा अत्यधिक भर पर्नुपर्दा यसको ‘गियरिङ रेसियो’ (ऋण र इक्विटीको अनुपात) निकै उच्च छ।
आर्थिक वर्ष २०२५ को अन्त्यमा ७.४२ गुणा रहेको यस्तो अनुपात सन् २०२६ को मध्य जनवरीसम्म आइपुग्दा बढेर ८.८६ गुणा पुगेको छ। यसले कम्पनीको वित्तीय स्वास्थ्यमा ऋणको भार निकै बढी रहेको देखाउँछ। यद्यपि, आम्दानीमा भएको सुधारले ब्याज तिर्न सक्ने क्षमतामा भने केही राहत मिलेको छ।
कम्पनीको कार्यगत पूँजी चक्रमा भने पछिल्लो समय सुधार देखिएको छ। आर्थिक वर्ष २०२४ मा ५८० दिन जस्तो निकै लामो रहेको अपरेटिङ चक्र सन् २०२५ मा घटेर १७० दिनमा झरेको छ। मुख्य गरी इन्भेन्टरी (भण्डारण) अवधि ५१५ दिनबाट घटेर १४६ दिनमा झर्नु र बजारबाट पैसा उठ्ने समयमा सुधार हुनुले कम्पनीलाई केही राहत दिएको छ। यद्यपि, कच्चा पदार्थका लागि पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने र डलरको विनिमय दरमा हुने उतारचढावले कम्पनीको लागत व्यवस्थापनमा सधैं चुनौती थपिदिएको छ।
बाराको सिमरामा कारखाना भएको यो उद्योगको नेतृत्व तीन दशकभन्दा लामो अनुभव भएका मनोज कुमार अग्रवालले गरिरहेका छन्। साथै, यो कम्पनी नेपालको प्रतिष्ठित एचपी अग्रवाल ग्रुप उत्पादन, व्यापार, पोलिमर र चिनी उद्योग जस्ता विभिन्न क्षेत्रमा सक्रिय छ।