काठमाडौं। कांग्रेसले आगामी माघ ११ हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आफ्ना उम्मेदवार तय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गए राती सम्पन्न बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको निर्णय गरेको हो।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कोसी प्रदेशमा कृष्णप्रसाद सिटौला (अन्य), मधेस प्रदेशमा आनन्दप्रसाद ढुंगाना (अन्य), बागमती प्रदेशमा जीतजंग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी (महिला), गण्डकी प्रदेशमा किरणबाबु श्रेष्ठ (अन्य), पदमबहादुर परियार (अपांगता÷अल्पसंख्यक)लाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसैगरी लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा (महिला), कर्णाली प्रदेशमा कृष्णबहादुर रोकाया (अन्य), सुदूरपश्चिम प्रदेशमा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपांगता÷अल्पसंख्यक)लाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस मुख्यसचिव कुष्णप्रसाद पौडेलले बताए।
कांग्रेसले सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार माघ ११ मा हुने कुल १९ सिटमध्ये राष्ट्रिय सभा सदस्य निर्वाचनमा १० वटामा उम्मेदवार दिएको हो। कांग्रेसले सत्तारुढ गठबन्धनको ऐक्यबद्ध ढंगले अघि बढ्ने सहमतिबमोजिमका उम्मेदवारलाई विजयी गराउन सबैमा आह्वान गरेको छ।
निर्वाचन आयोग नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मंगलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ।