काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले १४० मेगावाट क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको ८०.६ प्रतिशत सेयर चिनियाँ कम्पनीलाई बिक्री गर्ने भएको छ ।
बीपीसीले ३ ओटा चिनियाँ कम्पनीले संयुक्त रुपमा स्थापना गरेको एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडलाई बिक्री गर्न लागेको हो । एसीआईजीमा बीपीसको १९.४ प्रतिशत सेयर रहेने छ ।
बीपीसीले स्थापना गरेको सहायकक कम्पनी मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको ८ लाख ८५ हजार ९६० कित्ता मध्ये ७ लाख १४ हजार ८४ कित्ता सेयर एससीआईजीलाई बिक्री गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए ।
आउँदो पुस २४ गते हुने २७ औं वार्षिक साधारणसभामा आयोजनाको स्वामित्व बिक्रीका लागि बीपीसीले विशेष प्रस्ताव लैजाने उनले जानकारी दिए ।
एससीआईजीमा बीपीसीको १९.४ प्रतिशत बाँकी एससीआईजी इन्टरनेसनल लिमिटेड, जीचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआईइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहने छ ।
मनाङमा पर्ने १४० मेगावाटको सो आयोजनाबाट ६९ करोड ८२ लाख युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । तल्लो मनाङ मस्र्याङदी आयोजना भन्दा तल दुई आयोजनासंग क्यासकेड अवधारणामा स्रोतको अधिकतम उपयोग हुने गरी बिजुली उत्पादन बढाउने लक्ष्य रहेको बीपीसीले जनाएको छ ।
आयोजनाको संरचना मनाङको नासोङ गाउँपालिकाम रहनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली नासोङ गाउँपालिकाको घेलाञ्चोक र ओडार गाउँमा प्रस्तावित २२० केभी मनाङ हवमा ल्याएर जोडिने छ ।
विद्युतगृहमा ७१ मेगावाट क्षमताका २ वटा पेल्ट्रन टर्वाइनमार्फत बिजुली उत्पादन हुनेछ । आयोजनामा सुरुङको लम्बाइ ४.६ किलोमिटर लामो हुनेछ । हेड ३२० मिटर अग्लो हुनेछ ।
बीपीसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन चिनियाँसँग सम्झौता गरेको छ । होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । बीपीसीले ३० मेगावाटको न्यादी आयोजनाको निर्माण गरिरहेको छ ।
साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । यसपछि कम्पनीको चुत्तापुँजी बढेर २ अर्ब ६८ करोड ४६ लाख रुपैयाँ पुग्ने छ । बीपीसीको चुत्तापुँजी हाल २ अर्ब ४४ करोड ५ लाख रुपैयाँ छ ।