काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर तथा एक्वीजीशनमा गइरहेका बेला मर्चेन्ट बैंकहरु पनि मर्जरमा जान थालेका छन् । नेपाल राष्ट्र बैंकको मर्जर नीति पछि बाणिज्य बैंकहरुसँगै मर्चेन्ट बैंकहरुले पनि मर्जरमा जोन तयारी थालेका छन् ।
नियामक निकायले मर्जर नीतिबाट ठूला बैंकहरुलाई मर्जरमा लगेपनि पूँजी बजार सम्बन्धी काम गर्ने मर्चेन्ट बैंकिङ कम्पनीहरु पनि स्वतः स्फूर्त मर्जरमा जान सहमत भएका हुन् । बैंकहरु पूजीगत रुपमा बलियाँ भएसँगै मर्चेन्ट बैंकर्सहरु पनि पूँजीगत रुपमा बलियो हुन मर्जरमा जान थालेका हुन् ।
मर्जरमा गएपछि मर्चेन्ट बैंकहरुलाई कार्यक्षेत्र विस्तार, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी र हेज फण्ड, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, परार्मश सेवा, कोष सञ्चालन तथा सम्पति व्यवस्थापन लगायतका सेवा सुविधा उपलब्ध गराउन सहज हुनेछ । हालै प्रभु क्यापिटल र समृद्धि क्यापिटलबीच मर्जरमा जाने सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतापत्रमा प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यपिटलका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका छन। सम्झौता अनुसार नयाँ बन्ने कम्पनीको नाम प्रभु क्यापिटल हुनेछ । मर्जर प्रक्रिया पूरा भएपछि कम्पनीको एकीकृत चुक्ता पूँजी ८० करोड पुग्ने छ । प्रभु क्यापिटल धितोपत्र बोर्डबाट सेयर निष्काशन तथा विक्री प्रबन्धक कम्पनी हो । त्यस्तै, समृद्धि क्यापिटल बोर्डबाट लगानी व्यवस्थापनको लागि अनुमती पाएको कम्पनी हो ।
यसअघि ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर गरिससगै ग्लोबल आइएमई क्यापिटलले रिलायबल क्यापिटललाई प्राप्ती गरिसकेको छ । हालै जनता बैंकसँग मर्ज गरि एकीकृत कारोबार थालेको ग्लोबले सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल र जनता बैंकको सहायक कम्पनी जनता क्यापिटलबीच मर्जरको मोडलका बिषयमा छलफल भइरहेको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले आवश्यकता अनुसार मर्जर या प्राप्ती गर्न सकिने बताए ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि एनआईबिएल क्यापिटल र एस क्यापिटल एक भएर एनआईबिएल एस क्यापिटलको नामबाट कारोबार गर्दै आइरहेका छन् ।