काठमाडौं । नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरुले १ खर्ब ४ अर्ब रुपैयाँ बढी लाभांश लगेका छन् । नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरुले गरेको नाफाबाट १ खर्ब ४ अर्ब ६७ करोड ७३ लाख रुपैयाँ लाभांश लगेका हुन । विदेशी कम्पनीहरुले लगेको यो लाभांश आर्थिक वर्ष २०७०/०७१ देखि गत आर्थिक वर्ष २०७५/०७६ सम्मको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यसअवधिमा ९७ अर्ब ८९ करोड ८ लाख रुपैयाँ र ५ करोड ९३ लाख ७४ हजार ४ सय ६ अमेरिकी डलरमा लाभांश लगेका हुन् । आर्थिक वर्ष २०७०/०७१ मा विदेशी कम्पनीहरुले ७ अर्ब ८१ करोड ६० लाख रुपैयाँ लाभांश लागेका छन् । त्यस्तै, आर्थिक वर्ष २०७१/०७२ मा ५ अर्ब ७१ करोड ८५ लाख २०७२/०७३ मा ३ अर्ब ६ करोड ७१ लाख रुपैयाँ र २ करोड ८९ लाख ७४ हजार ७१० डलर लाभांश विदेश गएको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा लगानीकर्ताहरुले १३ अर्ब ९७ करोड ५६ लाख ८५ हजार रुपैयाँ र ३ करोड ३ लाख ९९ हजार ६ सय ९६ डलर लाभांश लगेको राष्ट्र बैंक विदेशी विनिमय विभागले जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ३९ अर्ब ५३ करोड ४ लाख र गत आर्थिक वर्षमा २०७५/०७६ मा २७ अर्ब ७८ करोड २९ लाख रुपैयाँ लाभांश विदेश लगेको राष्ट्र बैंकले जनाएको छ ।
मोवाइल सेवा प्रदायक एनसेलले सबैभन्दा बढी लाभांश लैजाने गरेको छ । एनसेलले आर्थिक वर्ष २०७४/०७५ मा दुई लट र २०७५/०७६ मा एक लट गरी भारतको रेनल्ड होल्डिङ कम्पनीलाई लाभांश पठाएको छ ।
अघिल्ला आर्थिक वर्ष २०७४/०७५ मा विदेशी लगानी भएका २७ ओटा कम्पनीले लाभांश लगेका थिए । आर्थिक वर्ष २०७५/०७६ मा २५ ओटा कम्पनीले लाभांश लगेका देखिएको छ । जसमा सबैभन्दा बढी लाभांश लैजाने कम्पनीमा एनसेलपछि सूर्य नेपाल छ ।
यस कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब २९ करोड २२ लाख रुपैयाँ लाभांश लगेको छ । २०७४/०७५ मा सूर्य नेपालले ४ अर्ब १० करोड ६४ लाख रुपैयाँ लाभांश लगेको थियो ।
यस कम्पनीले ब्रिटिस अमेरिकन टोबाको कम्पनी, भारतको आईटीसी कम्पनीलाई लाभांश पठाएको छ । सूर्य नेपालले भने अघिल्लो वर्षको तुलनामा गत वर्ष झन्डै १ अर्ब रुपैयाँ बढी लाभांश पठाएको छ । सूर्य नेपालले गत वर्ष चार लटमा र अघिल्लो वर्ष पनि चार लट गरी लाभांश पठाएको छ ।
गोरखा ब्रुअरी प्राइभेट लिमिटेडले ३ अर्ब ८२ करोड ७५ लाख ९५ हजार रुपैयाँ सिङ्गापुरको काल्सवर्ग साउथ एसिया प्रालिका नाममा लाभांश पठाएको छ । यस कम्पनीले अघिल्लो वर्ष ३ लट गरी लाभांश पठाएको थियो ।
गत वर्ष नर्वेको स्ट्याटक्राफ्टको बहुमत लगानी रहेको हिमाल पावर लिमिटेडले २ अर्ब ६९ करोड १३ लाख रुपैयाँ लाभांश विदेश पठाएको छ । अघिल्लो वर्ष हिमाल पावरले २ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ लाभांश लगेको थियो ।
यस कम्पनीले स्ट्याटक्राफ्ट होल्डिङ कम्पनी सिङ्गापुर र नर्वेको कम्पनीलाई लाभांश पठाएको छ । स्ट्याट क्राफटले यो वर्ष मात्र धेरै लाभांश लैजाने छ । आगामी वर्षदेखि उसको विदेश लैजाने लाभांश घट्ने छ ।
युनिलिभर नेपाल लिमिटेडले अघिल्लो वर्ष ८८ करोड ८२ लाख रुपैयाँ लाभांश पठाएको छ । यसले गत वर्ष पठाएन । यस कम्पनीले हिन्दुस्तान युनिलिभर लिमिटेडका नाममा लाभांश पठाएको छ ।
त्यस्ता लाभांश पठाउने कम्पनीहरुमा खुकुरी रम उत्पादक द नेपाल डिस्टिलरी, एसियन पेन्ट्स, नबिल बैंक, पावर ट्रान्समिसन कम्पनी, नेपाल बङ्गलादेश बैंक, एनएमबी बैंकलगायत छन ।
लाभांश लैजाने अन्य कम्पनीमा बुटवल पावर कम्पनीबाट नर्वेको आईकेएन नेपाल, मणिपाल एजुकेसनल ग्रुपले भारतको मणिपाललाई पठाउने गरेको छ ।
यसैगरी स्ट्रोम कम्युनिकेसन भारत, जीटीएल नेपालबाट जीटीएल सिङापुर, बरुण वेभरेज, बोटलर्स नेपाल, केएनपीबाट कन्साइ निरोलक पेन्टस जापान, नेपाल एसबीआई बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, हिमालयन बैंक, अर्घाखाँची सिमेन्टबाट उमा सिमेन्ट भारत, युनाइटेड स्प्रिट नेपालबाट युनाइटेड स्प्रिट भारतलगायत छन ।