काठमाडौँ पूजीबजारको दोस्रो बजारमा एनआइसी बैंक र सानिमा बैंकको ऋणपत्र कारोबार भएपछि लगानीकर्ताहरुमा बैंकको ऋणपत्रप्रति चासो देखिएको छ । दोस्रो बजारबाट ऋणपत्रको कारोबार सुरु भएपनि नियमित भने भएको छैन ।
धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत ऋणपत्रको दोस्रो बजारमा नियमित कारोबार गर्न सहजीकरण गर्ने बताएको थियो । नेप्सेका अनुसार सेयरमा जस्तो ऋणपत्रमा पर्याप्त लगानीकर्ता नहुँदा ऋणपत्रको नियमित कारोबार हुन समस्या भइरहेको छ । तर, दोस्रो बजारमार्फत जुनसुकै बेला पनि ऋणपत्र खरिद गर्न सक्ने नेपाल स्टक एक्स्चेन्ज(नेप्से)का प्रवक्ता मुराहरी पराजुलीले बताए ।
ऋणपत्रको व्याजदर फिक्स हुन्छ । यसमा रिक्स कम हुनुका साथै उपलब्धी पनि बढी मात्रामा हुँदैन । तर, सेयरको खरिदमा जोखिमसँगै आम्दानी पनि राम्रो हुने भएकाले दोस्रो बजारमा ऋणपत्रको तुलनामा सेयरकै लगानीकर्ता बढी हुने गर्छन् । सेयरको मुल्यमा घटबढ हुन सक्छ तर ऋणपत्रको मुल्य घटबढ हुँदैन । ऋणपत्र खरिद बिक्री गर्न लगानीकर्ताले चासो देखाएमा नेप्सेको सिस्टममा अहिले पनि ऋणपत्र कारोबारको सुबिधा उपलब्ध रहेको प्रवक्ता पराजुलीले बताए ।
गत साता मात्रै अनलाइन प्रणाली मार्फत विभिन्न कम्पनीको ४ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको ऋणपत्रको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुँक्ता पूँजीको कम्तीमा २५ प्रतिशत अनिवार्य डिबेन्चर (ऋणपत्र) निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ ।
सोही व्यवस्थाका कारण बैंकहरूले ऋणपत्र निष्कासनलाई तिब्रता दिएका हुन् । हाल दोस्रो बजारमा ऋणपत्रका लगानीकर्ता धेरै छैनन् । सेयर जस्तो ऋणपत्रमा सामान्य लगानीकर्ताहरु आकर्षित हुन सक्ने अवस्था छैन । सेयर बजारमा लगानीकर्ताले १ कित्ताको १०० रूपैयाँको दरले न्यूनतम एक हजार रुपैयाँबाट बजारमा प्रवेश गर्न सक्छन् भने ऋणपत्रमा लगानी गर्न प्रतिकित्ताको १ हजार दरले खर्च गर्नुपर्छ ।
त्यसैले पनि निम्न आय हुनेहरुले १ हजारमा दोस्रो बजारमा प्रवेश गर्न सक्ने अवस्था भएपनि ऋणपत्रका हकमा त्यस्तो हुँदैन । न्युनतम १० कित्ता किन्नु पर्दा पनि १० हजार रुपैँयाको आवश्यकता पर्छ । त्यसैले ऋणपत्रमा सामान्य आय भएका नागरिकको पहुँच पु¥याउन समस्या छ । बैंकहरूले चालू आर्थिक बर्षमा ६ अर्ब ९० करोड बरावरको ५ वटा ऋणपत्र जारी गरिसकेको छन् । केही बैंकहरु ऋणपत्र निष्काशनको तयारीमा छन् । गत आर्थिक बर्षमा बैंकहरुले १६ अर्ब ५६ करोड बरावरको ११ वटा ऋणपत्र जारी भएका थिए ।