यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले ३ महिनाभित्र स्मार्ट लाइसेन्सको समस्या नहुने बताएका छन् । संघीय संसद्को विकास तथा प्रविधि समितिको छलफल कार्यक्रममा उनले १५ दिनभित्र मास प्रिन्टर आउने र बाँकी स्मार्ट लाइसेन्स छपाइ गरिने जानकारी दिए ।
६ देखि ७ लाख स्मार्ट लाइसेन्स समयमै छपाइ गर्न नसकेको स्वीकार गरे । ‘अबको १५ दिनभित्र टेन्डर गरिएको मास प्रिन्टर आइपुग्छ,’ उनले भने, ‘त्यसपछि धमाधम लाइसेन्स छपाइ हुन्छ । ३ महिनाभित्र लाइसेन्सको समस्या हुँदैन ।’
२५ दिनमा ४ लाख लाइसेन्स छपाइ गरेमा तत्कालैको समस्या हल हुने उनले बताए । आगामी आर्थिक वर्षमा झन्डै १८ लाख स्मार्ट कार्ड छपाइका लागि ५६ करोड विनियोजन भएको उनको भनाइ छ । स्मार्ट कार्डका लागि बजेट अभाव नभएको उनले जानकारी दिए ।
यसैबीच सडक विभागले ३ घण्टाभन्दा बढी यातायात अवरुद्ध हुन नदिने जनाएको छ । वर्षाको समय सुरु भइसकेकाले पहाडी क्षेत्र तथा कमजोर भुगोल भएको क्षेत्रमा पहिरो गएर यातायात अवद्ध भएको अवस्थामा कम्तीमा ३ घण्टाभित्र हटाएर यातायात सुचारु गरिने विभागका महानिर्देशक केशव शर्माले बताए ।
विकास तथा प्रविधि समितिको बैठकमा उनले भने ‘ठूलै पहाड खसेमा र सडक भासिएको अवस्थाबाहेक वर्षाका कारण अवरुद्ध यातायातलाई ३ घण्टामै सहज बनाउने गरी नजिकको सडक कार्यालयमा जनशक्ति र इक्विपमेन्ट व्यवस्था गरेका छौं ।’ सडक निर्माण र विस्तारको काम भइरहेको उनले बताए ।
सांसदको गुनासो
सांसद राजेन्द्र लिङ्देनले आफूले ६ महिना हुँदा पनि स्मार्ट कार्ड पाउन नसकेको गुनासो गरे । अरुले माननीय भएपछि लाइसेन्स पाइहाल्नुहुन्छ भने पनि आफू सर्वसाधारण भएर लाइसेन्स लिन खोज्दा ६ महिना हुँदा पनि लाइसेन्स नआएको बताए । ‘सर्वसाधारणको हालत के होला ?’ उनले भने, स्मार्ट लाइसेन्समा भएको भष्ट्रचार र बिचौलिया अन्त्य नगरेसम्म यस्तै समस्या कायम रहने उनको भनाइ छ ।