काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले होङ्सी सिमेन्ट मात्रै प्रयोग गर्न नेपालमा रहेका चिनियाँ ठेकेदारलाई निर्देशन दिएकी छिन् ।
७० प्रतिशत चिनियाँ लगानी रहेको होङ्सी सिमेन्टको बिक्री निरन्तर कमी हुँदै गएपछि केही दिनअघि चिनियाँ राजदूत यान्छीले नेपालमा रहेका ठेकेदारलाई चिनियाँ लगानीमा खुलेको होङ्सी सिमेन्ट प्रयोग गर्न निर्देशन दिएकी हुन् ।
प्रत्येक हप्ता चिनियाँ ठेकेदारलाई दूतावासमा बोलाएर उनले यस्तो निर्देशन दिने गरेको सहभागी एक उच्च अधिकारीले जानकारी दिए । ‘हामीले चिनियाँ लगानीलाई संरक्षण गर्नुपर्छ, होङ्सी सिमेन्टमा चीनको ठूलो लगानी रहेको छ,’ राजदूत यान्छीको भनाइ उदृत गर्दै ती अधिकारीले क्यापिटल नेपाललाई भने, ‘निर्माण क्षेत्रमा चिनियाँ ठेकेदारको वर्चस्व रहेको र सबै ठेकेदारलाई होङ्सी सिमेन्ट नै प्रयोग गर्न निर्देशन दिएकी हुन् ।’
देशभित्र विभिन्न ठुला परियोजनाको जिम्मा चिनियाँ ठेकेदारले पाएका छन् । खासगरी राष्ट्रिय गौरवका आयोजनामा पनि चिनियाँ ठेकेदारकै बर्चस्व छ ।
राजदूत यान्छीले नेपालका रहेको चिनियाँ लगानी संरक्षण गर्नु आफ्नो दायित्व भएकाले सोही अनुसार काम गर्न निर्देशन दिइकी हुन् । होङ्सी सिमेन्ट बाहेक अन्य क्षेत्रमा पनि चिनियाँ लगानी छ । नेपाली साझेदारको ३० प्रतिशत र चिनियाँ पक्षको ७० प्रतिशत लगानी छ ।
नेपाली बजारमा होङ्सीको प्रवेशपछि सिमेन्ट र क्लिङ्करको मूल्य ह्वात्तै घटेको छ । सरकारले पुँजीगत खर्च बढाउन नसक्दा र निर्माण कार्यमा आएको सुस्तताले सिमेन्टको बजार दिन प्रतिदिन खुम्चिँदै गएपछि राजदूत यान्छीले हरेक हप्ता बोलाएर यस्तो निर्देशन दिने गरेको सम्बद्ध स्रोतको दाबी गरेको छ ।
होङसी सिमेन्टले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उसले निकट भविष्यमै उत्पादन क्षमता दोब्बर बढाएर दैनिक १२ हजार टन पुर्याउने तयारी थालेको छ । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्नका लागि होङसीले ३७ अर्ब रुपैयाँ लगानी गरेको छ । उसले सो रकम नेपाली बैंक तथा वित्तीय संस्थाबाट जुटाएको छ ।
पछिल्लो समयमा एनएमबी बैंकको अगुवाईमा १६ अर्ब रुपैयाँ थप लगानी हुँदै छ । उद्योगमा नेपाल इन्भेस्टमेन्ट, प्रभु, एभरेष्ट र नेपाल एसबीआई बैंक र कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने सम्झौता भइसकेको छ । ७ वर्ष अवधि रहेको कर्जाको सुरक्षण जमानत बैंक अफ चाइना र मिङसेङ बैंकले दिएका छन ।