काठमाडौं । चिसो बढेसँगै न्यानो कपडा र ज्याकेटको व्यापारमा वृद्धि भएको छ । राजधानीमा केही दिनयता लगातार चिसो बढेपछि ज्याकेट तथा न्यानो कपडाको माग बढेको व्यापारीहरु बताउँछन् ।
व्यापारीले जाडो सिजनका लागि आवश्यक पर्ने ज्याकेट तथा अन्य कपडा पनि ल्याइसकेका छन । यही बेला चिसो अत्यधिक बढेकाले यसको व्यापार पनि बढ्दै गएको काठमाडौं महाबौद्धका कपडा व्यापारी सुनिल कुँवरले बताए ।
उनका अनुसार चिसो बढेसँगै न्यानो कपडाको ब्यापार दोब्बरले बृद्धि भएको छ । गत वर्ष यही समयमा दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको ज्याकेट बिक्री हुन्थ्यो । तर, अहिले दैनिक ४० देखि ५० हजार रुपैयाँको व्यापार हुने गरेको छ ।
ग्राहकहरुले बजार आएर भन्दा पनि अनलाइनबाट नै आपूmलाई मन परेका कपडा तथा कलर रोज्ने गरेका छन् । गत बर्षको तुलनामा अहिले ज्याकेट तथा न्यानो कपडाको व्यापार बढेको व्यापारी कुँवरले बताए ।
बजारमा नेपालीमा बनेका नेपाली ज्याकेट भन्दा पनि चीनमा बनेका चाइनिज ब्राण्डका ज्याकेट पुरुष तथा महिलाको रोजाइमा पर्ने गरेको न्यूरोडका अर्का कपडा व्यापारी बाबु ढकालले बताए ।
पछिल्लो समय अत्यधिक चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्ने मानिसहरुको चहलपहल तथा व्यापारमा समेत वृद्धि भएको छ । गत वर्षको तुलनामा २० प्रतिशतले व्यापार बढेको ढकालको भनाई छ ।
उनले भने ‘विश्व बजारमा आएका डिजाइन देखाएर सामान खोज्ने गरेका छन्, । त्यस्ता सामान नेपाली बजारमा आउन समय लाग्ने हुँदा उपभोक्ताको माग अनुसार सामान दिन नसकेको व्यापारीहरु बताउँछन् ।
जाडो बढदै गएकाले बजारमा ज्याकेट मात्र नभएर मोजा, पञ्जा, टोपी जस्ता कपडाहरुको समेत ब्यापार बढि भइरहेको व्यापारीहरुले बताएका छन ।
बजारमा अहिले सामान्यतया ज्याकेटको मूल्य १ हजार ५०० रुपैयाँबाट सुरु हुने गरेको छ । गत वर्षको तुलना २० देखि ३० प्रतिशतसम्म सस्तो भएर आएको व्यापारी ढकालले बताए ।
ग्राहकले नेपाली उत्पादन भन्दा विदेशी ब्रान्ड नै रोज्ने गरेका छन् । जाडोको समय भएकाले बजारमा कतिपय कपडाहरु आकलन भन्दा बढी बिक्री भएकाले माग धान्न समेत मुस्किल परेको छ ।
तस्वीर: नाजिया श्रेष्ठ