काठमाडौं । बढीमा दुईओटा संस्थालाई मात्रै अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृत दिने गरी नयाँ विद्युत् विधयेक मस्यौदामा व्यवस्था गरिएको छ ।
विद्युत् सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकको मस्यौदामा ‘अन्तरदेशीय विद्युत् व्यापारको आवश्यकता र औचित्यका आधारमा बढीमा दुईओटा संस्थालाई स्वीकृती दिन सकिने’ उल्लेख गरिएको हो ।
विद्युत् उत्पादनको अनुमतिपत्रमा नै विद्युत् निर्यात गर्न पाउने उल्लेख भएकोमा निर्यातका लागि छुट्टै स्वीकृती लिनु नपर्ने व्यवस्था मस्र्याैदामा राखिएको हो ।
त्यस्तै, अन्तर्राष्ट्रिय वा क्षेत्रीय विद्युत्को विनियमय(इनर्जी एक्सचेन्ज वा इनर्जी बैंकिङ) सम्वन्धी अवधारणाका आधारमा विद्युत्को आयात निर्यात तथा व्यापार गर्न सकिने व्यवस्था गरिएको छ ।
अहिले विद्युत् ऐन—२०४९ अनुसार भने विद्युत् उत्पादन अनुमतिपत्र लिँदा निर्यात गर्न पाउने व्यवस्था थियो । मुलुक संवैधानिक रुपमा संघीय प्रणाली गएसँगै तीनओटै सरकारलाई विद्युत् र जलस्रोतमा साझा अधिकार सुचीमा राखिएसँगै पुरानो ऐनलाइ परिमार्जन तथा संंशोधन गर्न लागिएको हो ।
विधेयकको मस्यौदा परिमार्जन सहित थप पुरस्कृत गर्न ऊर्जा मन्त्रालयले शुक्रबार निजी ऊर्जा उत्पादक, ऊर्जा विज्ञ, लगानीकर्ता तथा सरोकारवालासँग छलफल तथा राय माग गरेको छ ।
उक्त कार्यक्रममा ऊर्जा मन्त्रालयका प्रवक्ता तथा सहसचिव प्रविणराज अर्यालले निजी क्षेत्रलाई थप समेटेर नयाँ विद्युत् ऐन बनाउन लागिएको बताए । जलविद्युत्मा अधिकतम जनताको सहभागीता, ग्रामीण विद्युतीकरण र ऊर्जा विकासको दीर्घकालीन लक्ष्य हासिल गर्न पनि नयाँ विद्युत् ऐन आवश्यक रहेको बताए ।
अहिले विद्युत् विधयेकको मस्यौदामाथि विभिन्न सरोकारवालाका एकदर्जन सुझाव प्राप्त भएको अर्यालले बताए ।त्यस्तै, ऊर्जा मन्त्रालयका सहसचिव तथा विधेक मस्यौदा निर्माण समितिका संयोजक तोयनाथ अधिकारीले विधेयकमा व्यवस्था भएका महत्वपूर्ण व्यवस्थाहरु प्रस्तुतीकरण गरेको थिए ।
विद्युत् विधयेक मस्यौदामा मुख्यतः प्रतिस्पर्धाका माध्यमबाट विद्युत् क्षेत्रको विकास गर्ने, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति, क्षेत्रीय तथा अन्तरदेशीय विद्युत् व्यापार, ग्रामीण विद्युतीकरण, ऊर्जाको न्यायको अवधारणा, विशेष अवस्थामा विद्युत् सेवा उपलव्ध गराउने, संघ, प्रदेश र स्थानीय सरकारको विद्युत् उत्पादमा सहभागीता सुनिश्चित, विद्युत् उत्पादन अनुमतिपत्र, उत्पादन, प्रसारण, वितरण र व्यापार लगायतका क्षेत्रलाइ जोड दिइएको छ ।