काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत जलविद्युत समूहमा सेयरधनीलाई सबैभन्दा बढी लाभांश दिनेमा बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) रहेको छ ।
नेप्सेमा ३२ जलविद्युत कम्पनी सुचिकृत छन । यी मध्ये सेयरधनीलाई राम्रो लाभांश दिनेमा बीपीसी र चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड मात्र छन । अन्य कम्पनीको अवस्था कमजोर छ ।
बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बीपीसीले १८ प्रतिशत र नगद १० प्रतिशत बोनस सेयर दिने भएको छ । लाभांश दिने प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारणसभा बोलाएको छ ।
बोनस सेयर वितरणपछि कम्पनीको पुँजी बढेर ३ अर्ब रुपैयाँ पुग्ने छ । बीपीसीको चुक्तापुँजी हाल २ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ । गत आर्थिक वर्षमा पनि बीपीसीले सेयरधनीलाई २८ प्रतिशत लाभांश दिएको थियो ।
यस्तै चिलिमे हाइड्रोपावरले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर दिएको छ ।
बोनस सेयर वितरणपछि कम्पनीको चुत्तापुँजी बढेर ५ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ । गत वर्ष पनि चिलिमेले २५ प्रतिशत लाभांश दिएको छ । कम्पनीको साधारणसभा सम्पन्न भएको छ ।
नेप्सेमा सुचिकृत मध्ये यी दुई कम्पनीको लाभांश मात्र स्थिर रहेको छ । अन्य कम्पनीको लाभांश अवस्था राम्रो छैन । जलविद्युत आयोजना निर्माणधिन र निर्माण सकेर बैंकको ऋण भुत्तानी गरिरहेकाले अधिकाँशले लाभांश घोषणा गरेका छैनन ।
सानिमा माई हाइड्रोपावर लिमिटेडले ५, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ८.४२, नाग्दी ग्रुप लिमिटेडले ५ प्रतिशत लाभांश दिने भएका छन । यस्तै राधी विद्युत कम्पनी लिमिटेड र अपी पावर कम्पनी लिमिटेडले पनि लाभांश दिएका छन ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेकाले अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले लाभांश दिने अवस्थामा छैन ।
यस्तै रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले ५७ मेगावाटको दुई आयोजना निर्माण गरिरहेको छ ।