काठमाडौं । फोटो जर्नलिस्ट क्लब, नेपालले ७ औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको छ । क्लबले आइतबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता गर्ने घोषणा गरेको हो ।
ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुुरु भएको घोषणा गरेका थिए । उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको शुरुवात गरेका थिए ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आईतबारबाटै फोटो दर्ता गराउन सक्नेछन् । प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ । उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनु पर्ने छ । आईतबारबाटै सुरु हुने दर्ता प्रक्रिया माघ १७, २०७६ मध्यरातमा १२ बजे बन्द हुनेछ ।
फोटो प्रतियोगिताको घोषणासँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक पनि लोकार्पण गरिएको थियो । कार्यक्रमका अतिथि ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक विमल कँडेल, शिखर इन्स्योरेन्स प्रालिका वरिष्ठ प्रवन्धक सुरज राजवाहक, अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रवन्धक रमेश थापा, मनराम ग्रुपका संरक्षक मनमाया श्रेष्ठ र फोटो जर्नलिस्ट क्लब नेपालका अध्यक्ष विकास कार्कीले फोटो पुस्तकको लोकार्पण गरेका थिए ।

अतिथिहरूको स्वागत गर्दै डिस मिडियाका उप–महाप्रवन्धक सञ्जय राजभण्डारीले फोटो जर्नलिस्ट क्लबले आयोजना गर्दै आएको फोटो प्रतियोगितामा सहकार्य गर्न पाउनु गर्वको विषय रहेको र यस्ता कार्यमा फोटो जर्नलिस्ट क्लबसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ प्रवन्धक सुरज राजवाहकले ५ वर्षदेखि कम्पनीले फोटो प्रतियोगिता आयोजनामा फोटो जर्नलिस्ट क्लबसँग सहकार्य गरिरहेको बताए ।

