काठमाडौं । दुई अर्ब रुपैयाँँसम्म लगानी गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नचाहिने गरी सरकारले कानुन परिमार्जन गर्ने भएको छ ।
वातावरण सरक्षण ऐनमा २५ करोड भन्दा बढी लगानी गर्दा अनिवार्य रुपमा ईआईए गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो । उक्त ऐन संशोधन भइसकेको छ । अहिले सोहि अनुसार नियमावली बनिरहेको छ । सोही नियमावलीमा २ अर्ब रुपैयाँसम्म लगानी गर्दा ईआईए गर्न नपर्ने र आईई मात्रै गरे पुग्ने व्यवस्था गरिने भएको हो ।
उद्योगी/व्यवसायीले २५ करोडको सीमालाई बढाउन सरकारलाई पटक–पटक आग्रह गर्दै आएका थिए । सोही अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वन मन्त्रालयलाई २५ करोडको सीमालाई बढाएर २ अर्ब रुपैयाँ पुर्याउन लिखित प्रस्ताव गरेको हो ।
‘अहिलेको अवस्थामा २५ करोडको सीमा एकदमै थोरै हो, यसलाई बढाएर २ अर्ब रुपैयाँ पुर्याउन वातावरण मन्त्रालयलाई लिखित पत्राचार गरेका छौ’ उद्योग सचिव यामकुमारी खतिवडाले भनिन्, ‘सायद, वातावरण मन्त्रालयले २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दा मात्रै ईआईए गर्नुपर्ने व्यवस्था गर्छ होला ।’
अहिलेको प्रावधानले व्यवसायीलाई थप हैरान बनाएकाले त्यसलाई सरकारले संशोधन गर्न लागेको हो । यस विषयमा वातावरण मन्त्रालय पनि सहमत छ । अहिले एउटा मेशिन पनि २५ करोड रुपैयाँमा ल्याउन सकिँदैन । अहिले सामान्य उद्योग पनि १ अर्ब रुपैयाँ भन्दा बढी लगानी हुन्छ ।
यस्तो अवस्थामा २५ करोडको सीमा लगानीकर्तालाइ निरुत्साहित बनाएको उद्योगीले बताउँदै आएका थिए । उद्योग सचिव खतिवडाका अनुसार वातावरण ऐन आइसकेको र नियमावली बन्दै गरेकाले यही बेला २ अर्बको सीमा राख्न मन्त्रालयले प्रस्ताव गरेको हो ।
नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष राजेश अग्रवालले लगानीकर्तालाई निरुत्साहित गर्न यो सीमाले ठूलो भूमिका निर्वाह गरेको बताए । ‘उद्योगीले पटक–पटक २ अर्ब रुपैयाँसम्म लगानी गर्दा ईआईए गर्नुपर्ने बनाउन सरकारसँग माग गरिरहेका थिए,’ अग्रवालले भने, ‘अहिले आएर सरकारले उक्त कुरालाई समावेश गर्न खोजेको छ । यो एकदमै राम्रो काम हो ।’
२५ करोडको लागतमा सामान्य उद्योगमा पनि लगानी कठिन हुन्छ । सामान्य भन्दा सामान्य उद्योग लगाउन खोज्दा ईआईए झन्झट ब्यहोर्न नसकेकै कारण धेरैले लगानी नगरेको उनको भनाइ छ ।
कम्तिमा पनि २ अर्बसम्म लगानी गर्ने उद्योगले ईआईए गर्नु नपर्ने अवस्था आयो भने उद्योगीलाई राहत हुने उनको भनाइ छ ।
नेपालमा ईआईए गर्न अत्यन्तै लामो समय लाग्ने र त्यसैका कारण लगानीकर्ता निरुत्साहित हुने गरेका थिए ।
याे पनि पढ्नुहाेस्
उद्योग बचाउनै हम्मेहम्मे
२५ करोडको त्यो ‘रोग’, जसले उद्योगमा लगानी गर्न रोक्यो